‘भारतीय मात्रै होइन विश्वकै जनताको स्वास्थ्य सेवालाई पहुँच योग्य र सर्वसुलभ बनाउने लक्ष्य लिएको छु’ : प्रधानमन्त्री नरेन्द्र मोदी

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशले स्वास्थ्य सेवालाई पहुँच योग्य र सर्वसलभ गराउने लक्ष्य लिएको बताएका छन् । उनले यो लक्ष्य भारतीय नागरिकका लागि मात्रै नभई सारा विश्वका नागरिकलाई उपलव्ध गराउन चाहेको स्पष्ट पारेका छन् ।
बुधबार देखि नयाँ दिल्लीमा जारी ‘एडभान्टेज हेल्थ केयर इन्डिया -२०२३’ को उदघाटन सत्रलाई ‘भर्च्युअल’ माध्यमबाट सम्वोधन गर्ने क्रममा उनले भारत बसुदैभ कुटुम्बकम मुल मन्त्रलाई व्यवहारिक रुपमा अघि बढाउन चाहेको बताए ।
‘यसले सारा विश्व एक परिवार हो भन्ने सन्देश दिएको छ । हामीले अहिले गर्दै गरेको जी -२० सम्मेलनमा पनि वान अर्थ, वान फेमेली एण्ड वान फ्युचर’को थिम तय गरेको छौँ, यसले अब भारत आफ्नो सहित सारा विश्व जगतको स्वास्थ्य प्रणाली सुधारका लागि क्रियाशिल रहेको छ,’ प्रधानमन्त्री मोदीले भने ।
उनले भारत स्वास्थ्य क्षेत्रमा संसारकै सबै भन्दा अब्बल देश बन्ने दिशामा अघि बढी सकेको भन्दै यहाँको औषधि र मेडिकल उपकरण संसारभर पुगेको बताए । उनले आफ्नो देश मेडिकल टुरिजमका लागि १६६ देशलाई मेडिकल भिषा दिने गरेको समेत बताए ।

कार्यक्रममा स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा मनसुख मण्डावियाले समतामुलक दीगो र प्रकृतिको क्षमता लचिलो हुने गरी विश्वव्यापी स्वास्थ्य सेवा पूर्वाधार निर्माणका लागि आग्रह गरे । उनले नागरिकको राम्रो भविस्यको लागि गर्नु पर्ने जिम्मेवारी पुरा गर्ने दिसामा अघि बढेको भन्दै त्यो भनेको स्वास्थ्य सेवामा लगानी बढाउने भएको बताए । उनले भारतले प्रत्येक राष्ट्र प्रत्येक नागरिक र प्रत्येक प्राणिको आवाज अंगाल्ने बताए ।
कार्यक्रममा सिंक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, नीति आयोगका सदस्य डा भीके पल, त्रिपुराका मुख्य मन्त्री मनिक शाह, एपोलो अस्पतालको निर्देशक डा संगीता रेड्डीले कार्यक्रमको बारेमा बोलेका थिए ।
आज देखि सुरु भएको तीन दिने उक्त सम्मेलनमा सहभागिता जनाउन विश्वका ७३ वटा देशबाट एक हजार बढी ‘पाहुना’ आएका छन् ।
यस सम्मेलनको थिम ‘वान अर्थ -वान हेल्थ’ दिइएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




