युएसएआईडीले स्वास्थ्यमा सुरु गर्यो ३ अर्ब २७ करोड रुपैयाँ बजेटको नयाँ परियोजना
दशौँ लाख नेपालीको स्वास्थ्यमा सुधार आउने स्वास्थ्य मन्त्रालयको दावी

काठमाडौँ, २१ चैत । नेपालस्थित अमेरिकी अन्तराष्ट्रिय विकास नियोग युएसएआईडीले स्वास्थ्यमा २ करोड ५० लाख अमेरिकी डलर (करीब ३ अर्व २७ करोड रुपैयाँ) बजेट सहितको नयाँ परियोजना सुरु गरेको छ ।
‘स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रवन्ध परियोजना’ नाम दिइएको उक्त परियोजना संघीय स्वास्थ्य मन्त्रालयसंगको साझेदारीमा सोमबारबाट सुरु गरेको हो ।
मन्त्रालयले उक्त परियोजनाबाट दशौँ लाख नेपालीको स्वास्थ्य सुधार हुने दावी गरेको छ । युएसएआईडीको यो नयाँ परियोजनाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय तहहरु (गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका)लाई वित्तीय सहायता प्रदान गर्ने बताइएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस साझेदारीले नेपाली नागरिकहरुलाई उचित, उत्तरदायी र दीगो स्वास्थ्य सेवा प्रदान गर्न संघीय र प्रादेशिक तहहरुमा नेपाल सरकारको स्वास्थ्य प्रणालीको सुदृडीकरण गर्नेछ । साथै यसले नेपालीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२ २०३० का लक्ष्यहरु हासिल गर्न सरकारलाई सहयोग गर्नेछ ।’
मन्त्रालयले युएसएआईडीसंगको यो परियोजनालाई नेपालको स्वास्थ्य क्षेत्रमा दशकौं लामो अमेरिकी सहयोगका साथै कोभिड -१९ महामारीको समयमा नेपालमा भएको सहकार्यको अनुभवमा आधारित भएको दावी गरेको छ । उसले युएसएआईडीले विकट भौगोलिक क्षेत्र तथा सीमान्तकृत समुदायहरुमा जीवनयापन गरिरहेका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन र उनीहरुको आकस्मिक अवस्था सम्वन्धी तयारी र प्रतिकार्य गर्न अझ बढी सक्षम भएको सुनिश्चित गर्न सहयोग गर्ने उल्लेख गरेको छ ।
मन्त्रालयले नेपालको स्वास्थ्य क्षेत्र र विकासमा सहयोग गर्न युएसएआईडीको यो परियोजना नेपाली नागरिकका लागि उपयुक्त र सुदृढ स्वास्थ्यउपचार सेवा हासिल गर्ने दिशामा एउटा महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको बताएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

