एक वर्ष अघि मन्त्रिपरिषद् बैठकले गरेको निर्णय :

अबको दश महिना भित्र खाद्य पदार्थहरुमा ट्रान्सफ्याटको मात्रा २ प्रतिशत कायम हुनु पर्ने, के छ तयारी ?

ट्रान्सफ्याट नियन्त्रण गर्न किन आवश्यक छ ? के भन्छन् मुख्य सरोकारवाला पक्ष ?

काठमाडौँ, १३ फागुन । गत वर्ष सरकारले गरेको निर्णयलाई आधार मान्ने हो भने नेपालमा अबको करीव दश महिना भित्रै औद्योगिक  खाद्य पदार्थहरुमा ट्रान्सफ्याटको मात्रा बढीमा २ प्रतिशतमा कायम गर्नु पर्ने हुन्छ ।

किनभने २४ माघ २०७८ मा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको ‘नसर्ने रोगहरु नियन्त्रणको बहुपक्षीय कार्य योजना २०२१ – २५’ मा यस्तो व्यवस्था समेटिएको छ ।

सो कार्य योजनाको एउटा बुँदामा सन् २०२३ भित्र खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिशत कायम गर्ने लक्ष्य रहेको उल्लेख छ ।

शुक्रबार नेपाल हृदयरोग निवारण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालमा खाद्य पदार्थमा ट्रान्सफ्याटको मात्रा सिमित गर्ने कानूनी प्रावधानको खाँचो’ विषयक पत्रकार अन्तरक्रिया कार्यक्रममा सरोकारवाला पक्षका विभिन्न विज्ञहरुले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सुरुमै  विषय प्रवेश गराउँदै ‘ट्रान्सफ्याट इलिमिनेशन पोलिसी एड्भोकेसी’ परियोजनाका कार्यक्रम निर्देशक एवं मुटु सर्जन डा. प्रेमराज वैद्यले गतवर्ष मन्त्रिपरिषद्ले गरेको निर्णय स्मरण गर्दै कानून निर्माणमा भएका प्रयास र वर्तमान अवस्थाका बारेमा चर्चा गरे । सोही अवसरमा उनले ट्रान्सफ्याट मानव स्वास्थ्यका लागि कति हानिकारक छ , औद्योगिक ट्रान्सफ्याट भनेको के हो ? औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिशत बढी गर्न नहुनुको कारणबारे प्रस्तुति राखेका थिए ।

प्रतिष्ठानका पूर्व अध्यक्ष एवं कार्यक्रम निर्देशक डा प्रकाशराज रेग्मीले नसर्ने रोग गराउने प्रमुख कारकहरुमध्ये एक अस्वस्थकर खाना हुने गरेको भन्दै जुन खानामा ट्रान्सफ्याट रहेको छ त्यो खाना नै अस्वस्थकर खाना भएको बताए ।

उनका अनुसार ट्रान्सफ्याट धेरै भएको खानाबाट युवा अवस्थामा नै खराब कोलेस्ट्रेरोल बढ्ने, मोटापना, उच्च रक्तचाप, मधुमेह आदि समस्या भई नसर्ने रोगहरु जस्तै हृदयघात, मस्तिष्कघात र केही क्यान्सरका रोगहरु उत्पन्न हुन्छन् ।

‘यसअघिसम्म धूमपान, मध्यपान, शारीरिक व्यायम लगायतका कुरा नसर्ने रोगको प्रमुख कारक हो भन्ने गर्दथ्यौँ तर अब त्यो सूचीमा ट्रान्सफ्याट पनि आएको छ । यसबारेमा आम जनमानसले बुझ्नु पर्ने जरुरी भएको छ । त्यसैले ट्रान्सफ्याटको नेपाली नाम अति खराब चिल्लो (अखचि) राखेका छौं,’ डा. रेग्मीले भने । उनले अखचीका कारण विश्वमा वर्षेनी ५ लाख बढी व्यक्तिको ज्यान जाने गरेको भन्दै त्यसलाई जोगाउन पनि ट्रान्सफ्याट युक्त खानेकुरा बहिस्कार गर्न सल्लाह दिए ।

कार्यक्रममा ट्रान्सफ्याट नियन्त्रणका लागि नीति कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले नीतिगत रुपमा भएका प्रयास र खाद्य सुरक्षाका लागि विभागले गर्दै आएका कामका बारेमा जानकारी दिएका थिए । उनले विभागले प्रतिष्ठान र विश्व स्वास्थ्य संगठनको सहयोगमा ट्रान्सफ्याट सम्वन्धी नयाँ ऐन ल्याउन काम भइरहेको भन्दै, मस्यौदा तयार भइसकेको जानकारी दिए । महर्जनलेअहिले खाद्य सम्वन्धी ऐन २०२३ को दफा ७ मा भएको व्यवस्था टेकेर काम गर्दै आएको समेत बताए । आफूहरुले अहिले ७७ वटै जिल्लामा खाद्य निरीक्षक तोकेको भन्दै टीपीएम मसिनबाट होटलहरुले पक्वानका लागि प्रयोग गर्दै आएको तेलको गुणस्तर जाँच गर्ने काम भइरहेको बताए ।

टीपीएम मसिनले पक्वानका लागि प्रयोग भएको तेलमा डुवाउने वित्तिकै ट्रान्सफ्याटको मात्रा कति रहेछ भनेर देखाउने गर्दछ ।

कार्यक्रममा कानूनका विज्ञ एवं पूर्व मुख्य सचिव तीर्थमान शाक्यले ट्रान्सफ्याट सम्वन्धी कानून निर्माणको प्रक्रिया र तत्काल गर्न सकिने कार्यको बारेमा जानकारी दिएका थिए । उनले कानून निर्माण गर्नु ठूलो कुरा नहुँने भन्दै कानूनको कार्यान्वयन महत्वपूर्ण रहेको बताए ।

प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्रपुरुष ढकालले भारत र बंगलादेशले ट्रान्सफ्याट सम्बन्धी नीतिमा कार्यान्वयनमा ल्याइसकेको भन्दै यसले नेपाललाई आफ्नो नीति बनाई लागू गर्न सहज हुने बताए । उनले अहिलेको प्राथमिकता औद्योगिक खाद्य पदार्थमा रहेको ट्रान्सफ्याट नियन्त्रण गर्नु रहेको समेत जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले विसं २०४५ सालमा स्थापना भएको प्रतिष्ठानले नसर्ने रोगविरुद्धका अभियानमा विभिन्न तरिकाबाट पैरवी गर्दै आएको बताए । उनले प्रतिष्ठानले पछिल्लो दुई वर्ष देखि ट्रान्सफ्याट नियन्त्रणका लागि छुट्टै परियोजना सञ्चालन गरी काम गरेको बताए ।

ट्रान्सफ्याट भनेको के हो ?

ट्रान्सफ्याट परियोजनाका निर्देशक डा. वैद्यका अनुसार साधारण भाषामा ट्रान्सफ्याट भनेको खाद्य पदार्थमा हुने अति खराब चिल्लो (अखची) भनेर बुझ्न सकिन्छ । यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भनिन्छ । मुख्यतः खानामा दुई किसिमको ट्रान्सफ्याट पाइन्छ ।

एउटा प्राकृतिक ट्रान्सफ्याट र अर्को कृत्रिम ट्रान्सफ्याट ।

प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट थोरै मात्रामा हुने भएकाले ठिक्क प्रयोग गर्दा खासै हानि हुँदैन ।

कृत्रिम ट्रान्सफ्याट वनस्पति तेलमा हाइड्रोजनको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानि पुर्‍याउँछ । यस्तो खालको चिल्लो पदार्थ कोठाको सामान्य तापक्रममा जम्ने गर्छ ।

अब, फ्याटि एसिडबारे पनि जानौँ ।

फ्याट अर्थात फ्याटि एसिड दुई किसिमका हुन्छन् । एउटा स्याचुरेटेड र अर्को अनस्याचुरेटेड ।

तेललाई जति धेरै तताइन्छ स्याचुरेटेड फ्याट त्यति धेरै वृद्धि हुँदै जान्छ । घिउ, बोसोमा भने नतताईकन नै स्याचुरेटेड फ्याट हुन्छ । अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुन्छ । एउटा पोलीअनस्याचुरेटेड फ्याटी एसिड र अर्को मोनोअनस्याचुरेटेड फ्याटी एसिड ।

मोनोअनस्याचुरेटेड पनि दुई किसिमको हुने गर्छ । एउटा ट्रान्सफ्याट र अर्को सिसफ्याट ।

यसमध्ये ट्रान्सफ्याट धेरै हानिकारक छ ।

ट्रान्सफ्याटको असर कस्तो हुन्छ ?

ट्रान्सफ्याट मिसिएकाखाना खाँदा त्यसले मानिसको मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पु र्‍याउने गरेको र यसले मानिसको मृत्युदर बढाउन थालेको अनुसन्धानबाट पाइएकोले ट्रान्सफ्याटलाई प्रतिबन्ध लगाउने अभियान विश्वभर शुरु गरिएको हो ।

पहिले हामी अनस्याचुरेटेड फ्याट वा वनस्पति तेलहरुलाई राम्रो भन्थ्यौँ । यही तेलहरुमा हाइड्रोजन ग्यास मिसाएर हाड्रोजेनेसन गरेपछि तेल अलि बाक्लो हुन्छ । अझ धेरै हाइड्रोजन मिसाएपछि तेल जम्छ, जसलाई वनस्पति घिउ (डाल्डा) भन्ने गरिन्छ । यो वनस्पति घिउ निकै खराब हुन्छ । त्यसमा ट्रान्सफ्याट धेरै हुन्छ ।

वनस्पति घिउमा ३५ देखि ६५ प्रतिशतसम्म ट्रान्सफ्याट भएको पाइन्छ । यो भनेको मानवस्वास्थ्यका लागि निकै खराब हो । यसले स्वास्थ्यमा प्रत्यक्ष हानि पुर्‍याउँछ ।

यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातनिकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ ।

ट्रान्सफ्याट धेरै भएको खानेकुरा खाएपछि यसले मानिसको शरीरमा कोलेस्ट्रोलको सन्तुलनमा गडबडी ल्याउँछ । फाइदा गर्ने कोलेस्ट्रोल एचडीएल घटाउँछ र खराब गर्ने कोलेस्ट्रोल एलडीएल बढाउँछ । अहिलेसम्म पत्ता लागे अनुसार वृद्धि भएको यही कोलेस्ट्रोल जमेर धमनीमा अवरोध गर्छ र हृदयघात हुन्छ ।

धमनीमा अवरोध भएपछि रक्तचाप पनि बढ्छ, जसका कारण स्ट्रोक ९मस्तिष्क घात० पनि हुन सक्छ रहृदयघात पनि हुन सक्छ ।

ट्रान्सफ्याटयुक्त तेल खानै नहुने हो त ?

ट्रान्सफ्याटयुक्त तेल खानै नहुने चाहिँ होइन, पूरा तेलको २ प्रतिशत भन्दा कम ट्रान्सफ्याट भएको तेल खाँदा हुन्छ ।

कारखानामा बनाइएको बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने भएकोले यो स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । त्यसकारण यस्ता ट्रान्सफ्याट युक्त तेल – घिउमा बनाइएका मिठाई, सेल, माल्पुवा, ग्वारमरी, पुरी, जेरी, स्वारी, हलुवा लगायत अन्य तयारी जंक फूडहरु नखानु नै राम्रो हो ।

नेपालमा ट्रान्सफ्याटको जोखिम कस्तो छ ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा ट्रान्सफ्याट अर्थात ‘अखची’को सबैभन्दा धेरै प्रयोग हुने १० वटा देशहरुमा नेपाल पनि पर्दछ । प्रतिष्ठानका पूर्व अध्यक्ष एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मी भन्छन्, ‘नेपालमा नसर्ने रोगहरुको संख्या दिन दिनै बढ्दो छ । सन् २०१० मा नसर्ने रोगहरुबाट मर्नेहरुको संख्या कुल मृत्युको ५१ प्रतिशत थियो भने सन् २०१६ मा यो बढेर ६६ प्रतिशत पुगेको छ । उपलव्ध तत्थ्यांक अनुसार ३० प्रतिशत मृत्यु मुटुका रोगहरुबाट, ९ प्रतिशत क्यान्सरबाट, ३ प्रतिशत मधुमेहबाट, १० प्रतिशत दम खोकीबाट र १३ प्रतिशत अन्य प्रकारका नसर्ने रोगबाट हुने गरेको पाइएको छ । यसमध्ये अस्वस्थकर खानपान एक हो ।’

डव्लुएचओले सन् २०२३ सम्म विश्व बजारमा उपलव्ध गराईने खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिशत वा सो भन्दा कम बनाउने लक्ष्य तय गरेको छ ।

अहिलेसम्म विश्वका ४५ भन्दा बढी मुलुकहरुले नीति कार्यक्रम र कानूनी प्रावधान मार्फत यो लक्ष्य पुरा गरेका छन् ।

दक्षिण एशियामा पनि भारत र बंगलादेशले ट्रान्सफ्याटलाई २ प्रतिशतमा सिमित गर्ने नीति पारित गरिसकेका छन् । नेपालमा पनि यसको नीति बनाउन प्रतिष्ठानले विगत दुई वर्ष देखि विभिन्न कार्यक्रम मार्फत सम्वन्धित निकायलाई घच्घच्याउने र आवश्यक सहयोग पुरयाउने कार्य गर्दै आइरहेका डा रेग्मी बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले ट्रान्सफ्याट नियन्त्रणका लागि आरइपीएलएसीई रणनीतिलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ । यसका लागि छुट्टै कानूनी प्रावधान आवश्यक रहेको उनले भनाई छ ।

ट्रान्सफ्याट नियन्त्रण सम्वन्धी कार्यमा प्रतिष्ठानको भूमिका के छ ?
परियोजनाका निर्देशक डा वैद्य भन्छन्, प्रतिष्ठानले अहिले यस सम्वन्धमा मुख्य रुपमा दुई वटा काम गर्दै आएको छ । पहिलो ट्रान्सफ्याटबारेमा जनचेतना जगाउने, दोस्रो कानून निर्माणमा सहयोग गर्ने ।

डा वैद्यले पछिल्लो दुई वर्षमा प्रतिष्ठानले ट्रान्सफ्याटबारे जनचेतना अभिवृद्धि गर्न विभिन्न प्रयास गरेको बताउँछन् ।

उनी भन्छन्, ‘विभिन्न मिडियाका माध्यमबाट, ब्रोसर, पोष्टर पम्प्लेट र होर्डिङ्गबोर्ड मार्फत र स्वास्थ्य शिविरमा जाँदा समेत यसबारेमा निरन्तर जानकारी गराइनै रहेका छौँ । अर्को हामीले नीति बनाउनका लागि विभागलाई सहयोग गर्दै आयौँ । त्यसका लागि हामीले विभिन्न सरोकारवाला पक्षसंग नियमित रुपमा छलफल सरसल्लाह र सुझाव लिने काम गरयौँ । अहिले विभागले नयाँ नीतिका लागि मस्यौदा तयार गरेको अवस्था छ ।’

प्रतिष्ठानका निर्देशक डा रेग्मीले नीति बनेर कार्यान्वयनमा आउन केही समय लाग्न सक्ने भन्दै यसबीचमा नियन्त्रणका लागि अरु बैकल्पिक प्रक्रियाहरुलाई समेत संगसंगै अघि बढाउँदै गएको बताउँछन् । ‘हामीले जति छिटो यसलाई नियन्त्रण गर्न सक्यो उती नै फाइदा हुन्छ । यसैले हामी यो अभियानमा जुटेका हौँ,’ डा. रेग्मीले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *