मन्त्रालय सम्हाले लगत्तै कान्ति अस्पतालको अनुगमनमा पुगे स्वास्थ्य मन्त्री गिरी, सेवा चुस्त बनाउन निर्देशन

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाले लगत्तै नव नियुक्त स्वास्थ्य मन्त्री पदम गिरी कान्ति बाल अस्पतालको स्थलगत अनुगमनमा गएका छन् ।

बालबालिकाको उपचार गर्ने सरकारी र एक मात्रै केन्द्रीय अस्पतालको उपचार सेवा बारे बुझ्न उनी मन्त्री बनेको पहिलो दिन नै कान्ति बाल अस्पताल पुगेका हुन् ।

अनुगमनका क्रममा उनले अस्पतालको इमरजेन्सी, आईयीयू, पिआईसीयू, अंकोलोजी लगायतका वार्डहरुको अवलोकन गरेका थिए । यस्तै विरामी कुरुवा कक्ष, विरामी र कुरुवाहरुले प्रयोग गर्ने शौचालय लगायतको समेत निरीक्षण गरेका थिए । सोही क्रममा उनले बिरामीका आफन्तसंग अस्पतालको सेवाको बारेमा समेत बुझ्ने प्रयास गरेका थिए ।

‘आम जनताका छोराछोरीले उपचार पाउने केन्द्रीय बाल अस्पतालको बारेमा पहिले देखि नै धेरै गुनासाहरु भएको सुनेको थिएँ । पहिलो सुरुवात कान्तिबाटै गरौँ भन्ने लाग्यो र आएँ,’ निरीक्षण पछि उनले भने ।

सो क्रममा उनले अस्पतालमा बिरामी कुरुवाहरुले प्रयोग गर्ने शौचालय साह्रै नै फोहर भएको भन्दै त्यसलाई तत्काल सुधार गर्न निर्देशन दिए । यस्तै बिरामी कुरुवाहरुका लागि बस्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए ।

अस्पतालका निर्देशक डा युवानिधी बसौला र प्रा लक्ष्मी तुईतुईले उनलाई अस्पताल भिजिट गराएका थिए ।

सो क्रममा निर्देशक डा बसौलाले कान्ति अस्पतालले दिएका सेवा तथा सुरु गर्न लागेका नयाँ सेवाका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *