गुल्मीको छत्रकोट गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने

गुल्मी, २४ पुस । गुल्मीको छत्रकोट गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण दिने घोषणा गरेको छ ।

गाउँपालिकाले ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजारका दरले निवृत्तिभरण दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए ।

त्यस्तै, ६० वर्ष उमेर पुगेर सेवानिवृत्त हुनेलाई संघीय सरकारले दिने २० हजारमा गाउँपालिकाले ३० हजार थपेर ५० हजार दिने पाण्डेयले बताए । साथै पाँच वर्षभन्दा बढी सेवा अवधि पुगेर छाड्नेहरूको हकमा १० हजारसहित सम्मानजनक बिदाइ गर्ने निर्णय भएको छ ।

केही दिनमै कार्यविधि निर्माण गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने पाण्डेयले बताए ।

छत्रकोट– २ की महिला स्वयंसेविका सावित्रा टन्डनले महिला स्वास्थ्य स्वयंमसेविकाको रूपमा काम गर्न थालेको १५ वर्ष भयो । त्यस वेला मासिक सय रुपैयाँ सुविधा थियो । उनीसँग भोकै काम गरेका विगतका तीता अनुभव पनि छन् । तर, समयसँगै पालिकाले गरेको निर्णयले आफूहरू उत्साहित भएको टन्डनले बताइन् । ‘हामी समुदायमा भूमिका धेरै हुँदा पनि सुविधाविहीन थियौँ । महिला स्वास्थ्य स्वयंसेविका पदले खुसी भए पनि कामका आधारमा पीडित थिए,’ उनले भनिन्, ‘गाउँपालिकाको पेन्सनको निर्णयले ठूलो राहत महसुस भयो ।’

छत्रकोटमा महिला स्वास्थ्य स्वयसेविका ८६ जना छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *