चिकित्सा शिक्षा आयोगले स्थगित गर्यो स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया
काठमाडौँ, २० पुस । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित गरेको छ। आयोगले बुधवार एक सुचना जारी गर्दै म्याचिङ प्रक्रिया हालका लागि स्थगित गरिएको जनाएको हो ।
सर्वोच्च अदालतले साविकको सूचना तथा म्याचिङ प्रणाली अनुसार विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गर्न आदेश दिएपछि आयोगले म्याचिङ प्रक्रिया स्थगित गरेको हो।
परिवर्तित म्याचिङ कार्यविधि लागू नगर्न सर्बोच्च अदालतले सोमबार नै चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश दिको थियो।
प्रवेश परीक्षा र त्यसको नतिजा आइसकेपछि आयोगले हठात रुपमा अपग्रेड सिस्टम भंग गर्दै नयाँ कार्यविधि लागू गरेको भन्दै विद्यार्थीहरुले गत पुस १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले तत्कालका लागि परिवर्तित कार्यविधि लागू नगरी पुरानै अपग्रेड सिस्टमको कार्यविधि लागू गर्न आयोगका नाममा अन्तरिम आदेश दिएको थियो ।