बालरोग विशेषज्ञ डा. नवराज केसीद्धारा लिखित पुस्तक शून्यको मूल्य सार्वजनिक

काठमाडौँ, १७ पुस । बालरोग विशेषज्ञ डा. नवराज केसीद्वारा लिखित पुस्तक ‘शून्यको मूल्य’ सार्वजनिक भएको छ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनस्वास्थ्यविदद्धय डा रिता थापा, डा अरुणा उप्रेती, र कलाकार सुरक्षा पन्तले एक साथ लोकार्पण गरे ।
लामो समयदेखि आफ्नै गृह जिल्ला सुर्खेतमा कार्यरत डा. केसीको यो पहिलो पुस्तक हो। पुस्तक सृजनात्मक गैरआख्यान विधाको हो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले नेपाली भाषामा लेखिएका कमै पुस्तकमात्र आफूले दोहो र्याएर पढ्ने गरेको बताउँदै शून्यको मूल्य पनि दोहोर्याएर पढेको बताए। सृजनात्मक गैर आख्यान विधाले आफूलाई पनि यसै पुस्तकमार्फत आकर्षित गरेको उनको भनाइ थियो। डा. भट्टराईले शून्यको मूल्य विज्ञान र कलाको समिश्रण भएर पठनीय पुस्तक बनेको बताए। उनले भने, ‘जान्ने भएपछि आँशु झारेर नरोएको धेरै भएको थियो। यो पुस्तकले मेरो आँखाबाट कतिपटक आँशु झार्यो मैले गन्नै सकिन।’
पुस्तकले संयुक्त राष्ट्रसंघको दिगो विकासको १७ लक्ष्यमा आमाको स्वास्थ्य त्योभन्दा माथि भएकाले आमाहरुको स्वास्थ्य नै विकासको शुरुवात हो भन्ने कुरालाई बुझाएको बताउँदै डा. भट्टराईले यो पुस्तकको युगान्तकारी महत्व भएको उल्लेख समेत गरे।
पुस्तकका बारेमा बोल्दै जनस्वास्थ्यविद डा. अरुणा उप्रेतीले पुस्तक कर्णालीको ऐना भएको बताउँदै यसले कर्णाली र सिंगो नेपालका महिलाको स्वास्थ्यको समाजशास्त्रीयकोण प्रस्तुत गरेको उल्लेख गरिन् । डा. उप्रेतीले शून्यको मूल्य कर्णालीको कहाली र त्यो कहालीभित्रको कहानी भएको बताइन।
त्यस्तै अर्की वक्ता जनस्वास्थ्यविद डा. रिता थापाले स्वास्थ्यका कुरालाई मेडिकल जागरणमा नभनी रैथाने भाषामा भनिएकाले पुस्तकले पाठकलाई तानिरहने बताइन् । पुस्तकमा भावुकतामात्र नभइ वैज्ञानिक मान्यतालाई आधार बनाएकाले यो पुस्तक तथ्योन्मुख भएको उनको धारणा थियो। स्वास्थ्य सेवालाई स्थानीयस्तरमा सुदृढ गर्न विभिन्न कथाका माध्यमले भनिएको कुरा सबै नीति निर्माताले बुझ्नुपर्ने उनले उल्लेख गरिन।

त्यसैगरी कलाकार सुरक्षा पन्तले आफ्नो कर्णाली बँसाइको अनुभव सुनाउँदै शून्यको मूल्य तथ्य र भावनाको समिश्रण भएको मन छुने पुस्तक बनेको बताइन। डाक्टर केसीको कथा भन्ने शैलीले कायल पारेको बताउँदै यस पुस्तकले सर्वसाधारण पाठकदेखि निती निर्माण तहका पाठकलाई पनि तान्ने उनको धारणा थियो।
विशेष डाक्टरहरु र नेता तथा निती निर्माण तहकाले नछुटाइ पढ्नुपर्ने यो पुस्तकले आमाको शारिरीक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यलाई दिगो विकासका लक्ष्यको शुरुवातमा राख्नुपर्ने कुरालाई उनले जोड दिइन।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




