आँखा शिविरबाट तीन सय सात लाभान्वित

काठमाडौँ, १३ पुस । स्थानीय गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन् ।

वडा नं स्थित ४ कैलपालमाण्डौ स्वास्थ्य चौकीमा वडा नं ४ र ५ को आर्थिक सहयोग र नेपाल नेत्र ज्योति सङ्घ, गेटा आँखा अस्पताल र जिल्लास्थित आँखा अस्पतालको प्राविधिक सहयोगमा मङ्गलबार एकदिने शिविर आयोजना गरिएको थियो ।

आँखाको उपचार गराउन जिल्ला सदरमुकाम डडेल्धुरालगायत अन्य अस्पताल जान नसक्ने ज्येष्ठ नागरिक तथा आर्थिक अभावले उपचार गर्न नसक्ने स्थानीयवासीले गाउँमै राखिएको निःशुल्क शिविरबाट सेवा लिएका हुन् ।

शिविरमा उपचार गराउनेहरुको भीड लागेकाले अब चाँडै गाउँपालिकाभित्र शल्यक्रियासहित आँखाको उपचार गराउन शिविर आयोजना गरिने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका लक्षित समुदाय र ज्येष्ठ नागरिक तथा असहायका लागि शिविर आयोजना गरी सेवा प्रदान गरिने उनले बताए ।

आँखाको उपचार मात्रै नभई अन्य दीर्घ रोगको औषधोपचारका लागिसमेत गाउँपालिका भित्रै शिविर आयोजना गरी स्थानीय सर्वसधारणलाई सेवा प्रदान गरिने उनको भनाइ थियो ।

वडावासीहरुको समस्या पहिचान गरी शिविर आयोजना गरिएको वडाध्यक्ष नरेशकुमार भट्टले बताए । उक्त गाउँपालिकाजस्तै जिल्लाका अन्य क्षेत्रका महिलामा पाठेघरको समस्या, आँखासम्बन्धी समस्या, दीर्घ रोगी र अन्य समान्य तथा जटिल प्रकृतिका रोगीका लागि पनि शिविर आयोजना गर्नुपर्ने स्थानीयवासीको माग थियो ।

शिविरमा चिकित्सक डा मुकेश पाण्डेयसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *