‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’

136
Shares

काठमाडौँ, ४ पुस । ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ ।

चन्द्रकोट–४ का बलबहादुर पुन उमेरले ८५ वर्षको पुगे । उनलाई दमसम्बन्धी समस्या पहिलेदेखि नै थियो तर, गाउँपालिकाको केन्द्र शान्तिपुरमा विशेषज्ञ डाक्टरसँग जाँच गराएपछि मात्र यसको बढी असर घरकै चुलोबाट भएको थाहा पाए । चुलोबाट निस्कने धुवाँका कारण उनलाई फोक्सोसम्बन्धी दमले च्याँपेको हो । “घरमा सधैँ चुलोमै खाना पाक्छ, धुवाँ हुन्छ तर यसको असर मलाई थाहा थिएन”, उनी भन्छन् “डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो ।”

चन्द्रकोट–३ का शिवलाल न्यौपाने पनि डाक्टर आएको थाहा पाएपछि शान्तिपुरमा पुगे । असी वर्षका उनलाई दम भएको थाहा भए पनि कारण जानकारी थिएन । डाक्टरसँगको जाँचपछि घरकै चुलोबाट निस्कने धुवाँ र धूमपानका कारण दम बढेको थाहा पाए । “धुलो र धुवाँमा त अनगिन्ती समयसङ्गत गरियो”, उनी भन्छन्, “यसको असरबारे मलाई अहिलेसम्म जानकारी थिएन । ”

सोही ठाउँकी ७८ वर्षीया पार्वती सुवेदी पनि दमलगायतका रोगबाट पीडित छिन् । उनको अधिकांश समय चुलोको धुवाँसँगै बितेका कारण दमले च्याँप्दै गएको डाक्टरको जाँचपछि पत्तो पाए । ८६ वर्षीया पूर्णकला थापाको पनि समस्या उहीँ हो । उनीहरु मात्र होइन, चन्द्रकोटको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी अधिकांश बिरामी दमका छन् ।

शुक्रबार, शनिबार र आइतबार सञ्चालन भएको शिविरमा सेवा लिएका एक हजार छ सय २३ जनामध्ये अधिकांश दमका बिरामी सहभागी भए । योसँगै मिर्गौला, मुटु, स्त्री, जनरल फिजिसियन र आँखाका बिरामीले पनि सेवा लिएका छन् । उनले निःशुल्क जाँचसँगै औषधि पनि पाएकी छिन् ।

गाउँघरमा दैनिक चाहिने ऊर्जाका निम्ति कोइला, दाउरा तथा गुइँठा आगोको कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ । खाना बनाउनका लागि प्रयोग हुने गरेका यी वस्तु र चिसो मौसममा आगो तापेर चुलो छेउमा बस्दा पनि धुवाँले असर गरिरहेकै कारण अधिकांशमा दमको समस्या देखिएको हो ।

चन्द्रकोट गाउँपालिकाको स्वास्थ्य शिविरमा उपस्थित अधिकांशमा आफूले जाँच गर्दा दमसम्बन्धी समस्या देखिएको जनरल फिजिसियन डा नन्दु पाठकले जानकारी दिए । चुलोबाट निस्कने धुवाँ र धूमपान बढी प्रयोगका कारण दमको समस्या देखिएको उनले बताए । “दमबाट बँच्न धूमपान चटक्कै छाड्ने र विद्युतीय चुलो प्रयोग गर्नुपर्छ”, उनी भन्छन् । ग्रामीण भेगमा अझै पनि सुधारिएको चुलोको प्रयोगमा समेत कमी छ ।

परम्परागत चुलोलाई विस्थापित गरेर विद्युतीय चुलोको प्रयोग गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घसँग सहाकार्य गरेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताए । “आधुनिक चुलोको प्रयोग बढाउन विद्युतीय चुलो बजार प्रवद्र्धन कार्यक्रम लागू गरेका छौँ”, उनी भन्छन्, “परम्परागत चुलोले स्वास्थ्यमा असर गरेकाले धुवाँरहित चुलो प्रयोग गर्नुपर्छ ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *