पोलियोबिरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न मन्त्रिपरिषदको अनुमति :

२५० बालबालिकामा ‘सविन स्ट्रेन’ आइपीभीको क्लिनिकल ट्रायल गरिदै

काठमाडौँ, २१ मंसिर । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई पोलियो रोगविरुद्धको नयाँ स्ट्रेनको पोलियो खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पोलियो रोगविरुद्ध सुईबाट दिईने खोप सविन स्ट्रेनको इनएक्टीभेटेड पोलियोभाइरस भ्याक्सिन (आईपीभी)लाई क्लिनिकल ट्रायल गर्ने अनुमति दिएको हो । अहिले नेपालमा सुईबाट साल्क स्ट्रेनको खोप दिने गरिएको छ ।

त्यसो त विश्व स्वास्थ्य संगठनले सन् २०१४ मै नेपाललाई पोलियोमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अधिकारीहरुले जोखिम अझै पनि कायम रहेको बताउँदै आएका छन् । अफगानिस्तान, पाकिस्तान तथा नाइजेरिया लगायतका देशमा पोलियो भाइरसका संक्रमितहरु फाट्फुट रुपमा देखा पर्दा जुनसुकै बेला अन्य देशमा पनि यो भाइरस पुन एक्टीभ हुनसक्ने उनीहरुको तर्क छ ।

स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले परिषदले पोलियोविरुद्धको नयाँ स्ट्रेनको खोप क्लिनिकल ट्रायलका लागि अनुमति मागेपछि स्वास्थ्यले सो सम्वन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराएको बताउँछन् । उनी भन्छन्, ‘परिषदका साथीहरुले पहिले देखि नै यो प्रस्तावका बारेमा अनुरोध गर्नु भएको थियो । स्वास्थ्यले पनि निर्वाचन अघि नै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो । हिजो बल्ल निर्णय भयो । अब काम गर्न खुल्ला छ ।’

परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवालीले पोलियोविरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न आवश्यक भएकोले अनुमतिका लागि अनुरोध गरेको बताए ।

क्लिनिक ट्रायलको संयोजक बनेका त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान आईओएमका बरिष्ठ बालरोग विशेषज्ञ प्राडा लक्ष्मण श्रेष्ठले जापान र चीनमा नियमित खोपमा परिसकेको सविन स्ट्रेनको आइपीभी खोप क्लिनिकल ट्रायल गर्न खोजिएको बताए ।

उनले यो खोपको क्लिनिकल ट्रायल भक्तपुरको सिद्धि अस्पतालमा २५० जना बालबालिकाहरुलाई गरिने समेत जानकारी दिए ।

‘अहिले पोलियो मुक्त राष्ट्र भएपनि संसारबाटै उन्मुलन नहुँदासम्म पोलियोसंग ढुक्कले बस्ने अवस्था हुँदैन । त्यसका लागि डव्लुएचओले समेत सविन स्ट्रेनको आईपीभी खोप आवश्यक छ भन्दै सुझाव दिइरहेको छ । हामीले मुखबाट र सुईबाट अहिले जो खोप दिएका छौँ । त्यसमा अब अर्को स्ट्रेनको खोप जो सुईबाट समेत दिन सकिन्छ । त्यसलाई ट्रायलका रुपमा हेर्दैछौँ,’ प्राडा श्रेष्ठले भने ।

उनले संसारबाट पोलियो उन्मुलन गर्नका लागि यो कदम चालिएको दावी गरे । उनी भन्छन्, ‘अब मुखबाट खुवाउने पोलियो खोपले मात्रै यो सम्भव हुँदैन सुईबाट पनि दिनु पर्छ । नत्र संसारबाट उन्मुलन हुन गाह्रो हुन्छ । त्यहि सुईबाट दिने खोपको हामीले क्लिनिकल ट्रायल गर्न लागेका हौँ ।’

त्यसो त नेपाल सरकारले सन् २०१६ देखि नै पोलियोविरुद्धको खोप मुखबाट र सुईबाट दिदै आएको छ । यसअघि नै विश्व स्वास्थ्य संगठनले पनि संसारबाट पोलियो उन्मुलन गर्नका लागि मुखबाट दिएर हुँदैन सुईबाट खोप दिनु पर्छ भन्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *