सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा खटिँदाकाअनुभव साटासाट गर्दै विभिन्न देशका मेयरहरु

बाली इन्डोनेसिया, १६ मंसिर । इन्डोनेसियाको बोगर सिटीका मेयर डा बिमा आर्या सुगिआर्तो जनस्वास्थ्यको विद्यार्थी हुन् । त्यसैको प्रभाव पनि हुनसक्छ मेयर भइसकेपछि नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा उनी डटेर लागे ।
केही वर्षको अन्तरालमा उनले आफ्नो नगरलाई सुर्तीजन्य पदार्थ विरुद्धको अभियान सञ्चालन गर्ने नमूना नगर बनाउन सफल भएका छन् ।
उनले यो अभियान सुरु गर्दा खेपेका सुर्ती उद्योगका दवाव र प्रभाव, जनचेतनाको कमीका कारण आम सर्वसाधारणको फरक बुझाई जस्ता कुराहरु, निर्वाचनमा लड्नका लागि उम्मेद्धार बनेका अन्य नेता साथीहरुको असहयोग थुप्रै व्यथित गरे । तर यहि विषयलाई आफ्नो राजनीतिक एजेन्डा र प्रतिवद्धतामा पारेर अघि बढेका उनले केही वर्षमा सफलता हात पार्दै गए ।

यता बालान्गा सिटी फिलिपिन्सका मेयर फ्रान्सिस एन्टोनीलेले पनि आफ्नो नगरलाई धूमपानमुक्त गराउन विविध अभियान सुरु गरे । युथ क्याम्पियन, जनचेतना मुलक अभियान, स्थानीय सरकारको सुर्ती सवन्धी नीतिमा परिवर्तन गर्दै सुर्ती जन्य पदार्थ विरुद्धको अभियानलाई अघि बढाउन थाले । ‘पोलिटिकल कमिटमेन्ट गराएको थिएँ । त्यसैले मैले के होला कसो होला भनेर सोच्दै सोचिन र अभियान सुरु गरिहाले । बाधा अवरोधलाई छिचोल्दे अघि बढिरहेँ,’ उनले भने ।
इन्डोनेसियाको बालीमा विहीबार (हिजो) देखि सुरु भएको स्वास्थ्य र विकासका लागि संगठित एशिया प्यासेफिक क्षेत्रका मेयरहरुको सातौँ शिखर सम्मेलनको दोस्रो दिन आज विहानै जारी अन्तरक्रिया कार्यक्रममा मेयरहरुले आफूले गरेका काम र अनुभवहरु साटासाट गरिरहेका छन् ।
टिमोर लिस्टेको दिली नगरपालिकाका मेयर ग्युलेरमिना फिल्मोमिनाले सुर्तीजन्य पदार्थ नियन्त्रणको अभियानमा नागरिक तथा समुदायस्तरलाई जोडेर अघि बढेको बताए । उनले यसको नतिजा सकारात्मक रुपमा आइरहेको समेत जानकारी गराए ।

यस्तै कम्वोडियाको फोनम पेन्हका डेपुटी गभर्नर लोक मुमन्टेभ केओ सोक, फिलिपिन्सकी सिइलो क्रिसेल तथा सिंगरा बंगलादेशका मेयर जानथोल फेरडुसले आफूले स्थानीय तहबाट जनस्वास्थ्यका विषयमा गर्दै आएका काम तथा सुर्तीजन्य पदार्थ नियन्त्रणको अभियानमा कसरी सञ्चालन गरेको भनेर अनुभव सुनाएको थिए ।
पहिलो सत्रमा कार्यक्रमको संयोजन एपिक्याट मिडियाकी शोभा सुक्लाले गरेकी थिईन ।
दोस्रो सत्रमा क्लुङ कुङ बालीका मेयर न्योमान सुर्विता, धामराई उपाजिल्ला बंगलादेशका मेयर मौहमद गोलाम कविर, क्वालालम्पुर मलेसियाका मेयर चिनाग लगायतले पनि आफ्ना अनुभव र विचारहरु प्रस्तुत गरेका छन् ।
स्वास्थ्य र विकासका लागि एशिया प्रशान्त क्षेत्रका नगरहरुको दवाव समूह एपिक्याटमा अहिले १२ देशका ८२ वटा नगरहरु आवद्ध छन् । त्यसमा नेपालबाट भरतपुर नगरपालिकाले सहभागिता जनाउँदै आएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



