एनडीएचएस सर्वेक्षण - २०२२

नेपालमा पूर्ण स्तनपान : पछिल्लो पाँच वर्षमा १० प्रतिशतले घट्यो

नेपालमा पूर्ण स्तनपान : कहिले घट्ने, कहिले बढ्ने

काठमाडौँ, ९ मंसिर । बच्चालाई स्वस्थ राख्नका लागि जन्मेदेखि छ महिनासम्म आमाको दुध बाहेक अन्य पदार्थहरु खुवाउन राम्रो मानिदैन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बच्चालाई जन्मेदेखि छ महिना नलागेसम्म आमाको दुधबाहेक अन्य केही कुरा नखुवाउन अर्थात पूर्ण रुपमा स्तनपान (एक्सक्लुसिभ ब्रेस्ट फिडिङ) गराउनु भन्दै आएका छन् ।

तर, नेपालमा भने पछिल्लो पाँच वर्षमा यसरी पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले कम भएको छ ।

भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस)२०२२ ले गएको पाँच वर्षमा पूर्ण स्तनपान १० प्रतिशतले कमी आएको देखाएको छ ।

सन् २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा ५६ प्रतिशत आमाहरुले मात्रै शिशु जन्मिएको ५ महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । जबकी पाँच वर्ष पहिले अर्थात सन् २०१६ को प्रतिवेदनले पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो ।

पाँचवर्ष अघिको प्रतिवेदनले नेपाल ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ अर्थात छ महिनासम्म आमाको दुध बाहेक केही नखुवाउने दक्षिण एशियाली देशहरको सूचीमा दोस्रो स्थानमा थियो । पहिलो स्थानमा रहेको श्रीलंकामा ८२ प्रतिशतले पूर्ण स्तनपान गराउँछन् ।

कहिले घट्ने, कहिले बढ्ने

छ वटा सर्वेक्षणलाई हेर्ने हो भने नेपालमा पूर्ण स्तनपान गराउने प्रतिशतमा घटवढ भईरहेको देखिन्छ ।

सन् १९९६ को एनएफएचएसका अनुसार पूर्ण स्तनपान गराउनेको प्रतिशत ७५ थियो । सन् २००१ मा आईपुग्दा सो घटेर ६८ प्रतिशतमा झर्यो ।

त्यसपछि सन् २००६ मा घटेर ५३ प्रतिशतमा झर्यो । सन् २०११ को सर्वेक्षणमा पूर्ण स्तनपान गराउनेको संख्या बृद्धि भएको पाईयो । त्यसबेला ७० प्रतिशतले पूर्ण स्तनपान गराएको उल्लेख छ ।

त्यसपछि सन् २०१६ को प्रतिवेदनमा फेरी घटेर ६६ प्रतिशतमा झ्यो । अहिले सन् २०२२मा आउँदा झन् १० प्रतिशतले कमि आउँदै ५६ प्रतिशतमा झरेको छ ।

त्यसो त सरकारले स्तनपान प्रबर्धनका लागि स्वास्थ्य सचिवको अध्यक्षतामा  स्तनपान प्रबर्धन संरक्षण समिति बनाएको छ ।

यो समितिमा स्वास्थ्यसंगै विभिन्न क्षेत्रका विज्ञहरु नियुक्ति गरिएको छ । तर सो समितिले प्रभावकारी काम गर्न नसकेको सर्वेक्षणको नतिजाले देखाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *