‘नेपालमा सुर्तीजन्य पदार्थको कारण बर्षमै साढे ३७ हजारले ज्यान गुमाउँछन्’

काठमाडौँ, ८ असोज । यसअघि सम्म नेपालमा सुर्तीजन्य पदार्थ सेवनकै कारण हरेक वर्ष २७ हजार १३७ जना नेपालीले ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक हुन्थ्यो । यो तथ्यांक विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०१८ मा सार्वजनिक गरेको हो ।

तर यसै साता सार्वजनिक भएको अर्को तथ्यांकले डब्लुएचओले चार वर्ष अघि सार्वजनिक गरेको तथ्यांकलाई निकै पछाडी छाडेको छ ।

नेपाल चिकित्सक संघको आयोजनामा भएको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलनको उदघाटन गर्न गएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा प्रतिवेदन सार्वजनिक गरे । गत ४ असोजमा सार्वजनिक भएको सो प्रतिवेदनमा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष ३७ हजार ५२९ जनाको मृत्यु हुने गरेको उल्लेख छ ।

‘हेल्थ इम्प्याक्ट अफ टोबाको इन नेपाल’ नामक अनुसन्धानात्मक प्रतिवेदन क्यान्सर रिसर्च युकेको सहयोगमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले तयार पारेको हो ।

सो प्रतिवेदनमा नेपालमा सुर्तीजन्इ पदार्थबाट विगत ३० बर्षमा स्वास्थ्यमा पारेको असरको फरक कस्तो छ भन्ने तथ्यांक विश्लेषण गरि आवश्यक सम्वोधनको उपायहरु सुझाइएको छ ।

प्रतिवेदनले नेपालमा कुल मृत्युको करीव २० प्रतिशत सुर्तीजन्य पदार्थको कारण भएको उल्लेख छ । यस्तै प्रतिवेदनले नेपाल सुर्तीजन्य पदार्थबाट सबैभन्दा बढी दरमा मृत्यु हुने दक्षिण एशियामै पहिलो बनेको छ । मृत्युदरमा नेपालले भारतलाई समेत उछिनेको छ । ३० वर्ष अघि नेपालमा सुर्तीजन्य पदार्थबाट हुने मृत्युदर श्रीलंका भन्दा कम थियो तर हाल भने दोब्बरले बढी भएको उल्लेख छ ।

प्रतिवेदनले विगत ३० वर्षमा सुर्तीजन्य पदार्थबाट मृत्यु हुनेको संख्या ६० प्रतिशतले बृद्धि भएको उल्लेख छ ।

अहिलेकै अवस्था निरन्तर रहे सन् २०५० सम्ममा १३ लाख ४० हजार नेपालीको सुर्तीजन्य पदार्थको सेवनकै कारण ज्यान जाने दावी गरिएको छ । त्यो भनेको बार्षिक ५२ हजार भन्दा बढी हो ।

प्रधानमन्त्री देउवाले सार्वजनिक गरेको सो प्रतिवेदनमा नेपाल सुर्तीजन्य पदार्थमा सबै भन्दा कम कर तिर्ने दक्षिण एशियाको देश बनेको उल्लेख छ । नेपालमा सुर्तीजन्य पदार्थको करको दर ४१ प्रतिशत मात्रै भएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो मुलुकले करको दरलाई कम्तीमा ७५ प्रतिशत पुरयाउन भने पनि कम कर हुँदा सुर्तीजन्य पदार्थ सस्तोमा पाउने र प्रयोगकर्ताहरु बढी हुने देखिएको छ ।

प्रतिवेदनमा सुर्तीजन्य पदार्थमा सबैभन्दा बढी कर तिर्ने मुलुक श्रीलंका रहेको बताइएको छ ।

श्रीलंकामा सुर्तीजन्य पदार्थमा ७७ प्रतिशत कर लगाइएको छ । यस्तै छिमेकी मुलुक भारतले सुर्तीजन्य पदार्थमा ५८ प्रतिशत कर लगाएको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘नेपालमा सुर्तीजन्य पदार्थको कारण बर्षमै साढे ३७ हजारले ज्यान गुमाउँछन्’

  1. प्रमुख कार्यकारीबाट विमोचन हुनुलाई अव धुम्रपान राज्यको प्राथमिकतामा परेको बुझ्न सकिन्छ । यस्तो पवित्र विषयको संप्रेशण र निरन्तर पैरवीका लागि साधुवाद छ नेपाली हेल्थ डट कमलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *