पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चौथो मिर्गौला प्रत्यारोपण सफल

फाइल फोटो

पोखरा, ४ असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सोमबार चौथो पटक मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको छ । मिर्गौला फेल भएकी ४६ बर्षीया महिलालाई उनका श्रीमान् ५० बर्षीय पुरुषले मिर्गौला दान गरेका हुन् । उनीहरु तनहुँका बासिन्दा हुन् ।

प्रत्यारोपणका लागि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक एवं प्रत्यारोपण विज्ञ डा पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोली पोखरा आएको थियो । सोही टोलीले सोमबारको प्रत्यारोपणमा सहयोग गरेको थियो ।

यो संगै पोखरामा हालसम्म दुई जना महिला र दुई जना पुरुषको मिर्गौला प्रत्यारोपण भएको छ । उनीहरुलाई मिर्गौला दान गर्ने पनि दुई जना महिला र दुई जना पुरुष नै रहेका छन् । डा श्रेष्ठले पोखरामा ५०/५० को अनुपातमा महिला र पुरुषको अंग लिने र दिने कार्य भएको बताए ।

नेपालको तथ्यांक विश्लेषण गर्दा खेरीमा भने ८० प्रतिशत अंगदाता महिला र ८० प्रतिशत अंग ग्रहणकर्ता पुरुष भेटिन्छन् । डा श्रेष्ठले पोखरामा अहिले प्रत्यारोपण संख्या सानो भएपनि लिने र दिनेको संख्या बराबर भएको भन्दै खुशी व्यक्त गरे ।

प्रत्यारोपणका लागि भक्तपुरबाट डा श्रेष्ठको नेतृत्वमा डा कल्पना श्रेष्ठ, बरिष्ठ एनेस्थेटिस डा निभा श्रेष्ठ, सर्जरीतर्फ डा राकेश बर्मा, दीर्घ श्रेष्ठ, डा दिपेश श्रेष्ठ र डा रविकिरण गौतम लगायत खटिएका थिए । यस्तै प्रतिष्ठानमा डा प्रकाश, डा अनुप, डा रोहीनी, डा अनिल, डा विशाल लगायत खटिएका थिए ।

केन्द्रले मिर्गौला प्रत्यारोपणलाई देशव्यापी बनाउने अभियान अन्तरगर्त पोखरामा आफ्नो जनशक्ति प्रयोग गरि प्रत्यारोपण सेवा विस्तार गरेको हो । उसले निकट भविस्यमा कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको धनगढीको सेती अस्पतालमा पनि प्रत्यारोपण सेवा सुरु गर्ने बताएको छ ।

केन्द्रले स्थानीय अस्पतालका जनशक्तिलाई तालिम दिने र उनीहरु पूर्ण सक्षम नहुँदासम्म आफ्नो टिमले नै सहयोग गर्ने नीति लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *