भक्तपुर नगरबासीले अब रगतको शुल्क तिर्न नपर्ने
भक्तपुर, २९ भदौ । भक्तपुरका स्थायी बासिन्दाले अव रगत लिन जाँदा कुनै शुल्क तिर्न नपर्ने भएको छ । नगरपालिकाले आगामी १ असोज देखि आफ्ना स्थायी बासिन्दाको लागि आवश्यक पर्ने रगत निशुल्क रुपमा उपलव्ध गराउन नेपाल रेडक्रस सोसाइटी भक्तपुरसंग सम्झौँता गरेको छ ।
दानबाट प्राप्त हुने रगत निशुल्क उपलव्ध गराईने भनिएपनि रक्तसञ्चार केन्द्र (व्लड बैंक)हरुले विभिन्न परीक्षण तथा अन्य सेवाका नाममा बिरामीसंग शुल्क असुल्ने गरेका थिए ।
नगरपालिकाले मंगलबार सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा निशुल्क रगतको व्यवस्था गरिने भनी उल्लेख भए बमोजिम भक्तपुर नगरपालिकाका स्थायी बासिन्दाहरुलाई आगमी १ असोज देखि कुनै पनि शुल्क नलिने निर्णय भएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा रगत उपलव्ध गराउँदा व्लड बैंकले गर्नु पर्ने परीक्षण तथा अन्य सेवा शुल्कबापतको रकम नगरपालिकाले सोधभर्ना गरिदिने जनाएको छ ।
यसअघि बागमती प्रदेशले पनि आफ्ना नागरिकलाई निशुल्क रगत उपलव्ध गराउने निर्णय गरेको थियो । प्रदेशले वीर अस्पताल र चण्डेश्वरी अस्पतालसंग सम्झौँता समेत गरेको बताएको थियो । तर त्यसको कार्यान्वयन राम्ररी हुन सकेको छैन् ।
अहिले व्लड बैंकहरुले एक युनिट रगतको ५२५ रुपैयाँ देखि १ हजार ५ सय बढी रकम लिने गरेका छन् ।
सम्पर्क इमेल : [email protected]