सरोकारवालाको प्रश्न : कुष्ठरोग सम्वन्धी विभेदकारी कानून कहिले सच्याउने ?

काठमाडौँ, २८ भदौ । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १ अन्तरगर्तको दफा ७१ विवाह गर्न गराउन नहुने महल राखिएको छ ।

त्यस भित्रको उपदफा २ मा जाने हो भने कसैले पनि देहायका कुनै पनि अवस्थाको पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन हुँदैन भन्ने वाक्यांश राखिएको छ ।  त्यसैको ‘ग’ मा पूर्ण रुपमा बोल्न नसक्ने वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिविहीन वा कुष्ठ रोगी भएको व्यक्तिलाई त्यसरी विवाह गर्न गराउन नहुने उल्लेख छ ।

सोमबार राजधानीमा भएको एक अन्तरक्रिया कार्यक्रममा सहभागि अधिकांश विज्ञ तथा सरोकारवाला प्रतिनिधिले यहि विवाह सम्वन्धी महलमा भएको व्यवस्थालाई कसरी संसोधन गर्ने भनेर छलफल गरे ।

कुष्ठरोग सम्वन्धी विभेदकारी कानून एवं अभ्यासहरु विरुद्ध पैरबी विषयक छलफल कार्यक्रममा कुष्ठप्रभावि व्यक्ति त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेको संघ संस्था, सरकारका प्रतिनिधि तथा दातृ निकायका प्रतिनिधिहरु सहभागी थिए ।

उनीहरुको निष्कर्ष थियो मुलुकी देवानी संहिता २०७४ ले कुष्ठप्रभावि व्यक्तिको आत्मवलमा गम्भीर आघात पारेको निष्कर्ष थियो । कार्यक्रममा अतिथि बनेका राष्ट्रिय मानव अधिकार आयोगका कार्यवहाक सचिव मुरारीप्रसाद खरेलले मुलुकी देवानी संहिता २०७४ को दफा ७१ को २ (ग)मा भएको व्यवस्थाले कुष्ठप्रभावि व्यक्तिको अधिकारमाथि धावा बोलेको बताए । उनले यसलाई तत्काल सच्याउनका लागि सरकारलाई चिठी लेख्ने समेत बताए ।

यता सर्बोच्च अदालतका सह रजिष्ट्रार बाबुराम दाहालले दफा ७१ प्रति संकेत गर्दै विभेदकारी व्यवस्था सच्याउनका लागि सर्बोच्चले छुट्टै सेल खडा गरेको बताए । उनले यस्ता विषयमा केश गर्नका लागि निशुल्क परामर्श तथा सेवा सर्बोच्चमा रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा बोल्दै कुष्ठरोग नियन्त्रण तथा अपांगता शाखा प्रमुख डा. रविन्द्र बास्कोटाले लान्छना तथा भेदभाव न्युनिकरण गर्न विभिन्न तहको महत्वपूर्ण भूमिका रहेको भन्दै नीतिगत तहमा सबै सामाजिक तथा आर्थिक क्षेत्रमा कुष्ठरोग प्रतिको भेदभाव हटाउने नीति बनाउन जरुरी रहेको बताए । उनले राष्ट्रिय कुष्ठरोग रणनीति २०२१ २०२५ले कुष्ठरोगका बिरामी तथा कुष्ठप्रभावित प्रति हुने लान्छना तथा भेदभावलाई सुन्यमा पुरयाई मानव अधिकारको सम्मान गरी भेदभाव हटाउने लक्ष्य लिएको बताए ।

कार्यक्रममा दामियन फाउन्डेशनका देशीय प्रतिनिधि डा सुशील कोइरालाले कुष्ठप्रभावित व्यक्तिलाई लक्षित हुने गरी बनाइएको कानूनी व्यवस्थालाई अहिले पनि नहटाइएको भन्दै सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराए ।

उनले सरकारले कुष्ठरोग सम्वन्धी नीति बनाएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको आरोप लगाए । उनले कुष्ठप्रभाविलाई असर गर्ने विभेदकारी व्यवस्था तत्काल सच्याई कुष्ठरोग नियन्त्रण सम्वन्धी कार्यक्रम लिएर आउन सरकार समक्ष आग्रह गरे ।

नेपालमा कति छन् कुष्ठ प्रभावि व्यक्ति ?

नेपाल अहिले कुष्ठरोग निवारण भएको मुलुकमा पर्दछ । प्रति १० हजार जनसंख्यामा १ भन्दा कम बिरामी रहेको पाईएपछि नेपालले सन् २०१० मै कुष्ठरोग निवारण गरेको घोषणा गरेको थियो ।

कुष्ठरोग नियन्त्रण शाखाका प्रमुख डा. रविन्द्र बास्कोटाका अनुसार हाल हरेक वर्ष करीव ३ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेको तथ्यांक छ । त्यसो त अहिले पनि तराईँका १० र पहाडका १ गरी कुल ११ जिल्लामा कुष्ठरोग प्रकोपदर १ भन्दा बढी रहेको छ ।

उनले शिघ्र पहिचान र बहु औषधि प्रयोगले कुष्ठरोग पूर्ण रुपमा निको हुने भएता पनि निवारण गर्न कुष्ठरोग प्रतिको लान्छना र सामाजिक भेदभाव प्रमुख बाध रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *