बजारमा सिटामोलको अभाव, दुई चार दिनमा सहज हुने विभागको भनाई

काठमाडौँ, २७ भदौ । नेपाली बजारमा यतिवेला सिटामोलको अभाव देखिएको छ । डेंगु संक्रमण बढी रहेका बेला सिटामोल अभाव देखिएको हो । औषधि पसलमा अहिले माग अनुसार सिटामोल उपलव्ध छैन् । तर औषधि व्यवस्था विभागले अभाव न्युनिकरणका लागि पहल थालिसकेको बताएको छ ।

नेपाल औषधि थोक व्यवसायी संघ (पिडान)का अध्यक्ष शिवराज बास्कोटाले औषधि पसलहरुमा सिटामोल पठाउन नसकिएको बताए ।

‘देशैभरबाट सिटामोल चाहियो भनेर फोन आईरहेको छ तर पठाउन सकिएको छैन् । देशमा डेंगु प्रकोप फैलिरहेका बेला बढी प्रयोग हुने औषधि सिटामोल आवश्यकता अनुसार पठाउन नसक्दा दुख लागेको छ,’ बास्कोटाले भने ।

उनले औषधि व्यवस्था विभागले २७ वटा औषधि कम्पनीलाई सिटामोल उत्पादनका लागि अनुमति दिएको भन्दै ती कम्पनीले उत्पादन नगर्दा विभाग जिम्मेवार हुने कि नहुने भन्दै प्रतिप्रश्न गरे ।

यता औषधि व्यवस्था विभागले अभाव न्युनिकरणका लागि पहल थालिसकेको बताएको छ । विभागका महानिर्देशक भरत भट्टराईले सिटामोल उत्पादन गर्ने कम्पनीहरुलाई बजारको माग अनुसार पूर्ति गर्नका लागि सोही अनुसार उत्पादन गर्न भनिसकेको बताए ।

‘मैले हिजो पनि सिटामोल बनाउने पाँच सात वटा ठूला निजी कम्पनीसंग कुरा गरेको थिएँ । उहाँहरुले सिटामोल उत्पादन भईरहेको र अभाव पूर्ति गर्नका लागि तुरुन्तै थप उत्पादन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । सरकारी कम्पनी नेपाल औषधि लिमिडेटले पनि औषधि बनाई पठाइरहेको छ । त्यसैले अब दुई चार दिनमा औषधि सहज होला,’ महानिर्देशक भट्टराईले भने ।

नेपाल औषधि उत्पादक संघ (एपोन)का अध्यक्ष प्रज्वलजंग पाण्डेले सिटामोल बनाउने निजी फर्मास्युटिकल्स कम्पनीहरुले क्षमता बनाई रहेको बताए । उनले एकै पटक उच्च माग हुँदा कहि कतै केही समयका लागि उपलव्ध नभएको हुनसक्ने बताए ।

तर,, उनले सिटामोलको समस्यालाई सरकारले राजनीतिक ईस्यु बनाउँदा झनै बल्झेको दावी गरे ।

‘विगत १४ -१५ वर्ष देखि सिटामोलमा मूल्य समायोजन भएको छैन् । कच्चा पदार्थको मूल्य, उपकरण र जनशक्तिमा खर्च हुने रकम कहाँबाट कहाँ पुग्यो तर सरकारले उही पुरानै रेटमा उत्पादन गर भन्छ, सबै उद्योगले यसरी नियमित रुपमा घाटा खाएर बर्षौ बर्ष उत्पादन गर्न गाह्रो हुन्छ,’ पाण्डेले भने ।

उनले अगाडी थपे, ‘कोभिडका हरेक लहर आउँदा सिटामोलको समस्या भयो । हामीले सरकारलाई भन्यौँ तर हाम्रो कुरालाई गम्भीरताका साथ लिईएन । जवसम्म वास्तविक समस्या थाहा पाएर पनि थाहा नपाएजस्तो गरिन्छ । समस्या बल्झिनै रहन्छ ।’

यता नेपाल औषधि लिमिडेटका महाप्रवन्धक मोहम्मद सफिउल्लाहले आफूकहाँबाट मासिक ५० देखि ६० लाख ट्यावलेट सिटामोल उत्पादन भइरहेको दावी गरे । तर उनले आफ्नो उत्पादन क्षमताले कुल मागको करीव २५ देखि ३० प्रतिशत मात्रै धान्ने भएको स्पष्ट पारे । ‘हाम्रो तर्फबाट त उत्पादन भइनै रहेको छ । अन्यत्रबाट पनि उत्पादन भयो भने पो सहज हुन्थ्यो त,’ उनले भने ।

नेपालका लागि वर्षमा करीव ८ करोड सिटामोल ट्यावेट आवश्यकता हुने उत्पादक तथा व्यापारीहरुले बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *