स्वास्थ्य उपचारको क्षेत्रमा नेपालको प्रगति लोभलाग्दो : स्वास्थ्य मन्त्री खापुङ
काठमाडौँ, २५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य उपचारको क्षेत्रमा नेपालले केही वर्षको अन्तरमा लोभलाग्दो प्रगति गरेको बताएका छन् । दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र त्यसको व्यवस्थापन गर्ने अस्पतालका कारण उपचारको क्षेत्रमा प्रगति भएको बताएका हुन् ।
शुक्रबार देखि राजधानीमा शुरु भएको छैटौँ आईएएन डोन्लाड अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्न आएका मन्त्री खापुङले उपचारका लागि विदेश जानु पर्ने अवस्थाको करीव करीब अन्त्य भएको बताए ।
देश तथा विदेशका गरी करीब ३०० जना प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा रेडियोलोजिष्टहरु सहभागी भएको उक्त सम्मेलनलाई सम्वोधन गर्ने क्रममा मन्त्री खापुङले भने, ‘मैले मन्त्रालय सम्हालेपछि स्वास्थ्य क्षेत्र उपचारबारे नजिकबाट बुझ्ने मौका मिल्यो । मैले बुझे अनुसार सामान्य त अब कुनै पनि नेपाली उपचारका लागि विदेश भौतारिनु पर्दैन् । आफ्नै खुशीले जान्छु भन्ने बाहेक उपचारकै लागि आवश्यकता परेर विदेश जानु नपर्दो रहेछ ।’
कार्यक्रममा बरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा भोला रिजालले नेपालमा बढ्दो निसन्तानको समस्यालाई कसरी न्युनिकरण गर्न सकिन्छ भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका विज्ञहरुबीच छलफल चलाइएको बताए । उनले यस्ता छलफलले चिकित्सा क्षेत्रका नयाँ नयाँ उपलव्धीहरुबारे ज्ञान तथा अनुभव आदानप्रदान गर्न सकिने बताए ।
कार्यक्रममा लामो समय देखि प्रसूति तथा स्त्री रोगको क्षेत्रमा योगदान दिएको भन्दै प्राडा सरस्वती पाध्य, र रेडियोलोजी क्षेत्रमा योगदान दिएको भन्दै डा तीर्थराज बुर्लाकोटीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।
ओम अस्पताल मुख्य आयोजक भएको सम्मेलनमा नेपालमा आईभीएफ सेवा सुरु गर्न मद्धत गर्ने भारतीय डाक्टर जयदीप मल्होत्रालाई सम्मान गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]