डा. साहविरुद्धको पक्राउ पूर्जी तत्काल बदर गर्न चिकित्सक संघको माग

काठमाडौँ, २१ भदौ । नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आकस्मिक विभागमा कार्यरत डा करण साहबिरुद्ध पक्राउ पूर्जी जारी गरिएको प्रति कडा आपत्ति जनाएको छ । संघले डा साहबिरुद्धको पक्राउ पूर्जी तत्काल खारेज गर्न माग गरेको छ ।

गत भाद्र २ गते डा करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

सोही आधारमा जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि भन्दै डा साहबिरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ ।

संघका महासचिव डा बद्री रिजालले मंगलबार विज्ञप्ती जारी गर्दै कुटपिटमा परेका पिडित चिकित्सकलाई नै बाल हिंसा बिरुद्धको झुटा मुद्दा बनाई पक्राउ पुर्जी जारि भएको भन्दै आपत्ती जनाएका छन् ।

विज्ञप्तीमा ‘अस्पताल वा कार्यस्थलमा कुनै चिकित्सकद्वारा बाल हिंसाको घटना भएको भन्ने शंका लागेमा मुलुकी संहिता सम्बन्धि नेपाल ऐनलाई संसोधन गर्ने ऐन २०७५ को दफा ७४ को १८९ को उपदफा ३ र ४ बमोजिम अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसुरको अनुसन्धान नेपाल मेडिकल काउन्सिलको संयोजकत्वमा तोकिए बमोजिम अनुसन्धान गरि कसूर गरेको प्रमाण भेटिएमा निज बिरुद्ध मुद्दा चलाउन सम्बन्धीत सरकारी वकिलको कार्यालयलाई लेखि पठाउनेछ भनि कानुनि व्यवस्था भएकोमा सो व्यवस्थालाई नजर अन्दाज वा बिपरित सिधै थुनाको लागि पुर्जी काटेकोमा यसलाई तुरुन्त बदर गरि कानून बमोजिम अगाडी बढ्न सम्पूर्ण सम्बन्धित निकायमा अनुरोध गर्दछौं । साथै बिना कुनै कसूर कानुन अनुसार अनुसन्धान नै नभई पूर्वाग्रह राखी थुना पुर्जी जारि भएकोमा सो गैरकानूनी काममा संलग्न व्यक्तिहरुलाई नै कानुनी दायरामा ल्याई कडा भन्दा कडा कानुनि कारवाही गर्न यस संघ सम्बन्धित निकायसंग जोडदार माग गर्दछ,’भनिएको छ ।

संघले यदि चिकित्सक माथि भएको अन्यायलाई ७२ घण्टा भित्र सम्बोधन नभएमा नेपाल चिकित्सक सघले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने उल्लेख गरेको छ ।

यसअघि संघका प्रतिनिधिहरुले स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालयका अधिकारीहरुसंग मुद्धाका विषयमा छलफल गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *