७५ जिल्लामा डेङ्गीको संक्रमण पुष्टि, काठमाडौँ र ललितपुरमा सबैभन्दा धेरै संक्रमण

काठमाडौँ, २० भदौ । नेपालका ७५ जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । ७७ जिल्लामध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा तीन सातादेखि फैलिएको डेंगी संक्रमण अहिले घरघर र टोलटोल फैलिसकेको चिकित्सकहरूले जनाएका छन्।

सबैभन्दा धेरै काठमाडौँ र ललितपुरमा डेङ्गी फैलिएको छ । ललितपुरमा कतिपय परिवारका सबै सदस्यलाई नै डेङ्गी पुष्टि भएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेङ्गी भएको मन्त्रालयको तथ्याङ्क छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन् भने काठमाडौँ ८ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

डेङ्गीको सङ्क्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि सङ्क्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

अझै दुई महिना डेङ्गीको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

समुदायमा डेङ्गी फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनुपर्नेमा विज्ञको जोड छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न विज्ञहरुले आग्रह गरेका छन् ।

यस्तै, कोठामा सजाएर राखिएका फूलदानीमा पनि डेङ्गी सार्ने लामखुट्टेले फुल पार्ने हुँदा बेलाबेला पानी फाल्न र सफा गरिरहनु पर्ने छ । यस्तै, गाडीका टायरमा जमेको पानीमा पनि लमखुट्टेले फुल पार्ने हुँदा जमेको पानी हटाउन सुझाव दिइएको छ । डेङ्गी एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई यो रोग सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्। लामखुट्टे नियन्त्रण नै डेङ्गी रोकथामको मुख्य उपाय हो ।

बि.सं २०६१ मा पहिलो पल्ट नेपालमा डेङ्गीको बिरामी देखिएको र तत्पश्चात नेपालमा डेङ्गी बर्षेनी देखिन थालेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *