केन्द्रीय कारागार अस्पतालको जिम्मेवारी सम्हाल्न पुगे डा. बुढाथोकी

काठमाडौँ, १८ भदौ । केन्द्रीय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा भएका डा प्रकाश बुढाथोकीले शुक्रबारबाटै नयाँ जिम्मेवारी सम्हालेका छन् ।
यसअघि उनी वीर अस्पतालमा थिए । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले गत बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रीय कारागार अस्पतालको नेतृत्व गर्न डा बुढाथोकीलाई पठाएका थिए ।
‘म त हिजो नै अस्पताल पुगेर पदवहाली गरिसकें । अब योजनाबद्ध रुपले कामलाई अघि बढाउँछु,’ डा बुढाथोकीले भने ।
उनले अस्पताललाई प्रविधिमैत्री बनाउने, आधारभूत स्वास्थ्य सेवालाई पूर्ण रुपमा उपलव्ध गराउने, विशेषज्ञ सेवाका लागि मात्रै अन्यत्र रिफर गर्ने बताए ।
कारागार अस्पताल गृह मन्त्रालय अन्तरगर्त हुने भएपनि जनशक्तिको व्यवस्थापनको काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको छ ।
विभिन्न जिल्लाका कारागारमा रहेका कैदी बन्दीहरुको संख्याका आधारमा स्वास्थ्य प्राविधिकहरुको व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आईरहेको छ ।
कारागार अस्पतालमा सामान्य उपचारको व्यवस्थापन गर्ने र त्यहाँ व्यवस्थापन हुन नसकेका बिरामीलाई स्थानीय तथा जिल्लाहरुमा रहेका माथिल्लो तहका स्वास्थ्य संस्थाहरु तथा केन्द्रीय कारागार अस्पतालमा उपचारको व्यवस्थापन हुने व्यवस्था छ ।
केन्द्रीय तहमा नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० शैय्याको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न सुरू गरिएको थियो।
कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको र हाल ३० शैय्याको अस्पताल प्रमुख मेडिकल सुपेरीन्टेन्डेन्ट एघारौ तहको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन छ । विभिन्न रोगका विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्था समेत मिलाइएको छ ।
कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वाड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, डेन्टल, मनरोग, छालारोग र आँखा रोगको उपचारको ब्यबस्था भएको बताईन्छ ।
पन्ध्र शैय्याको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० शैय्याको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको हो। कारागार अस्पतालले अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई भने अस्पताल बाहिरका सरकारी अस्पतालमा पठाउने गरेको छ।
रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताल लगायतमा पठाईन्छ ्र कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ।
कारागार अस्पतालले भने निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




