भरतपुर महानगरभित्रका किशोरीहरुलाई आज देखि दिने भनिएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम स्थगित

चितवन, ३१ साउन । भरतपुर महानगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययन्रत ११ देखि १३ बर्ष उमेर समूहका बालबालिकालाई आज देखि दिने भनिएको पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप कार्यक्रम स्थगित भएको छ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भरतपुरले सोमबार सूचना जारी गर्दै आज देखि सुरु गर्ने भनिएको ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोप दिने कार्यक्रम स्थगित भएको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा डेजकुमार गौतमले अहिले महानगरपालिका भित्रका विद्यालयहरु बन्द भएकोले खोप कार्यक्रम केही समय पछि सारिएको बताए । उनले महानगर भित्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययन्रत ११ देखि १३ वर्ष उमेर समूहका ६ हजार किशोरीलाई सो खोप दिने योजना भएको समेत जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सर गराउने भाइरस ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको एचपीभी खोप किशोरीहरुलाई छ महिनाको अन्तरमा दुई डोज दिनु पर्दछ ।

क्यान्सर अस्पतालको गत वर्षको तथ्याङ्कअनुसार कुल क्यान्सर भएका बिरामीमध्ये ११ दशमलब ५७ प्रतिशत महिला पाठेघरका रहेका छन् । महिला मात्रैको क्यान्सरको तथ्याङ्क हेर्दा यो २१ प्रतिशत हुन आउने डा गौतमको भनाइ छ । किशोरीलाई खोप दिन सकेमा क्यान्सरबाट रोक्न सकिने डा गौतमले बताए ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ ।

एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ । यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ ।

एचपीभी -१६ र एचपीभी -१८ ले मात्रै ७० प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ ।

त्यसैले बालिकाहरुको संक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै ९ देखी १५ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो ।

त्यसो त नेपाल सरकारको खोप सम्वन्धी बहुबर्षीय योजनामा समेत एचपीभी लगायतको खोपहरु नियमित खोप सेवामा थप गर्दै जाने भनि उल्लेख गरिसकेको छ ।

पहिले पनि सुरु भएर रोकिएको हो यो कार्यक्रम

सरकारले २०७२ /०७३ मा कास्की र चितवन जिल्लाका कक्षा ६ मा पढ्ने र विद्यालय नगएका १० बर्ष उमेरका बालबालिकाहरुलाई २ मात्रा एचपीभी खोप दिएर अध्ययन समेत गरेको छ । त्यस अभियानमा बालिकाहरु शिक्षक र अभिभावकहरु सबैको ठूलो सहयोग प्राप्त भएको थियो । जसले गर्दा त्यस खोपको कभरेजदर त्यसबेला ९६ प्रतिशत भन्दा बढी देखिएको थियो ।

तर, एक वर्ष पुग्दा नपुग्दै कार्यक्रमले निरन्तरता पाएन । खोप अभाव भएको भन्दै दातृ निकायले हात झिकेपछि त्यसबेला कार्यक्रम रोकिएको हो । यसपटक भरतपुरमा भने सरकारी बजेटबाटै खोप खरीद गरी लगाईन लागिएको बताइएको छ ।

विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरीसकेका छन् ।

यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ ।

यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्‍याउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *