वंशाणुगत रोगको अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापना गर्न पहल थाल्छुः स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ, ४ साउन । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले वंशाणुगत रोगकेन्द्र स्थापनाको पहल थाल्ने बताएका छन् । वीर अस्पतालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताएका हुन् ।

उनले भने, ‘नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन नभएको पाइएको छ । वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै अत्याधुनिक प्रविधि सहितको उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक छ ।’

उनले वंशाणुगत रोगको विषयमा तथ्यांक राख्नुपर्ने र अध्ययन गर्न आवश्यक रहेको बताए । सो अवसरमा वीर अस्पतालका वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको उपचार निशुल्क हुँदै आएको र यसले विरामीलाई राहत पुगेको वताइन् । वंशाणुगत रोगका सन्दर्भमा सरकारले नीति योजना तर्जुमा गर्न आवश्यक रहेको बताइन् ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा देवनारायण शाह, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.श्यामबाबु यादव, वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रकुमार बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *