‘प्रदेश नं १ ले स्वास्थ्यमा ९ प्रतिशत बजेट छुट्यायो’
बिराटनगर, २३ असार । प्रदेश नं १ सरकारले स्वास्थ्यमा कुल बजेटको ९ प्रतिशत बढी बजेट छुट्याएको दावी गरेको छ । संघीय सरकारले भने यसवर्ष स्वास्थ्यमा ५ दशमलब ५ प्रतिशत मात्रै बजेट छुट्याएको छ ।
प्रदेश नं १को स्वास्थ्य मन्त्रालय र स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्वास्थ्य समिक्षा कार्यक्रममा प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयनन्द यादवले विश्व स्वास्थ्य संगठनको सुझाव अनुरुप हुने गरी बजेट विनियोजन गरेको बताए ।
‘हाम्रो जस्तो मुलुकले कम्तिमा कुल बजेटको १० प्रतिशत बजेट छुट्याउनु पर्ने हो तर संघीय सरकारले यसपटक स्वास्थ्यमा साढे ५ प्रतिशत मात्रै बजेट विनियोजन गर्न सक्यो हामीले भने ९ प्रतिशत पुरयाएका छौँ । स्वास्थ्यमा भण्डै ४ अर्ब बजेट विनियोजन भएको छ,’ उनले भने ।
उनले प्रदेश सरकारले जथाभावी बजेट छर्ने काम नगरेको उल्लेख गर्दै आवश्यक ठाउँका लागि परिणाममुखी बजेट ल्याएको दावी गरे । मन्त्री यादवले प्रदेश १ को स्वास्थ्य सेवा सुधार गर्न स्थानीय तहका हरेक वडामा स्वास्थ्य चौकीदेखि आवश्यक स्थानमा वर्थिङ सेन्टर स्थापना भइरहेको बताए । उनले सरकारले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवा जनतालाई थाहा नै नभएको र त्यस विषयमा जनचेतना जगाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा स्वास्थ्य सचिव डा. अनुज भट्टचनले प्रदेश १ सरकारले जनशक्ति व्यवस्थापनमा चुनौती भोगिरहेको बताए । जनशक्ति व्यवस्थापनका लागि संगठन व्यवस्थापन सर्भेक्षण गरी अगाडि बढ्ने उनको भनाइ थियो । प्रदेश १ स्वास्थ्य नीति, ७ वर्षे रणनीतिलगायतका कानुन बनाउने चरणमा रहेको समेत उनले जानकारी दिए । ‘प्रदेश स्वास्थ्य मन्त्रालय नयाँ संरचना हो,’ उनले भने, ‘हामी मन्त्री सचिव नै पहिलो नेतृत्व हो, ऐन, नियम, कानुन नै छैनन्, त्यसमा काम गरिरहेका छौं’ उनले भने । नीतिगत कामसँगै सेवा प्रवाहको काममा अगाडि बढिरहेको उनले बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेश सरकारले गरेका काम र बन्ने नीतिगत सुधारका लागि कार्यक्रम आयोजना गरिएको बताए । प्रदेश स्वास्थ्य मन्त्रालय निति योजना महाशाखा प्रमुख डा। सुरेश मेहताले नीति तथा कार्यक्रमहरु जनमुखी र जनतालाई केन्द्रमा राखेर बनाइने बताए ।
पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले पछिल्लो समय विट पत्रकारिताले व्यवसायिक पत्रकारितालाई जोगाइरहेको बताए । उनले बिट पत्रकारितालाई प्रोत्साहन गर्न सरकारले क्षमता अभिवृद्धिमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य पत्रकार मञ्चका उपाध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारिता प्रविधिक विषय बढी भएको हुँदा हतारको समचार सम्प्रेषण गर्न नहुने बताए । स्थानीयदेखि केन्द्रीय सरकारको प्राथमिकता स्वास्थ्य पर्दै गएको उनको भनाइ थियो ।
मञ्चका महासचिव भिषा काफ्लेले स्वास्थ्य क्षेत्रका नीति, नियम बन्दादेखि नै स्वार्थ समूह हावी हुने गरेको बताए । उनले प्रदेश १ सरकारका स्वास्थ्यका नीति, रणनीति, कानुन बन्ने चरणमा रहेको हुँदा सञ्चारकर्मीले विशेष चासो दिएर समाचार सम्प्रेषण गर्ने समय भएको बताए ।
सम्पर्क इमेल : [email protected]