औषधि पसलमा छ्यापछ्याप्ती न्युट्रास्युटिकल प्रडक्ट
एपोन भन्छ, 'डाक्टरले लेख्न र फार्मेसीले बेच्न पाउने हो भने हामीले बनाउन किन नपाउने ?'

काठमाडौँ, २० असार । हिजोआज अधिकांश फार्मेसी (औषधि पसल)बाट आहारपुरक खाद्य पदार्थ (न्युट्रास्यिुटिकल वा फुड सप्लिमेन्ट प्रडक्ट)को बिक्री बितरण भईरहेको छ ।
चिकित्सकले बिरामीका लागि औषधि सिफारिस गर्दा अत्यावश्यक औषधिको सूचीमा न्युट्रस्यिुटकल प्रडक्ट समेत उल्लेख गरिदिने भएपछि फार्मेसीले यी प्रडक्ट पनि औषधिसंगै राख्ने र बिक्री बितरण गर्ने गरेका हुन् ।
‘चिकित्सकले प्राथमिकताका साथ लेखिदिनु हुन्छ । बिरामीले यसलाई औषधिको रुपमा लिन्छ र जहाँबाट भएपनि जति परे पनि खरीद गर्छ । त्यसो भएपछि हामीले किन नराख्ने भनेर राखेका छौँ र बिक्री बितरण गर्दै आईरहेका छौँ,’ चाबहिलका एक फार्मेसी सञ्चालकले भने ।
औषधिकै रुपमा प्याकेजिङ गरिएको र हेर्दा औषधि जस्तै देखिने भए पनि यो औषधि होईन । कानूनी रुपमा न त यो चिकित्सकले औषधि भनेर प्रेस्काईव गर्न मिल्छ नत फार्मेसीबाट बिक्री बितरण गर्न नै । तर नाफा बढी भएका कारण यी दुबै पक्षले कानून बिपरित काम गरिरहेका छन् भने नियामक निकाय मौन छन् ।
यता नेपाल औषधि उत्पादक संघ (एपोन)ले न्युट्रास्युटिकल प्रडक्टका बारेमा सरकारको ध्यानाकर्षण गराएको बताएको छ । संघका अध्यक्ष प्रज्वलजंग पाण्डे भन्छन्, ‘खासमा यो प्रडक्टलाई औषधिको रुपमा फार्मेसीबाट बिक्री गर्न पाईने होईन तर चिकित्सकले प्रेस्काईव गर्ने र फार्मेसीबाट निर्वाध रुपमा बिक्री हुने हो भने ती प्रडक्टहरु नेपाली औषधि उद्योगहरुले झन् सस्तोमा र गुणस्तरीय रुपमा उत्पादन गर्न सक्थे । सरकारले यसतर्फ ध्यान दिनु पर्छ ।’
उनले औषधिको फर्ममा विदेशबाट आउने अहिलेका प्रडक्टहरु औषधि भन्दा कैयौ गुना महंगा हुने गरेको बताउँदै आम जनमानसमा भ्रममा पारेको बताउँछन् ।
नेपालमा न्युट्रास्युटिकल प्रडक्टलाई खाद्य पुरक बस्तुको रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गर्ने गरिएको छ तर यी प्रडक्टहरु खाद्य पसलबाट बिक्री बितरण नभई औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि पसलबाट बिक्री बितरण भइरहेको छ । अझ औषधिकै रुपमा प्याकेजिङ गरिएको हुनाले आम सर्वसाधारणहरु थप भ्रममा पर्ने गरेका छन् ।
गत विभिन्न संचारमाध्यमले रुपन्देहीमा नक्कली औषधिको अवैध बिक्री बितरण, प्याकिङ, लेभलिङ साथै अधिकतम बिक्री मूल्य समेत प्रिन्ट गरि बजारमा पाएको भन्ने समाचार सार्वजनिक भएको थियो । तर त्यो औषधि नभई न्युट्रास्युटिकल्स प्रडक्ट रहेको पछि पुष्टि भएको थियो ।
एपोनका अध्यक्ष पाण्डे भन्छन्, ‘विदेशबाट आयात गरी यसरी बिक्री हुने सामग्रीको न गुणस्तर जाँच हुन्छ, न मूल्यको विषयमा थाहा हुन्छ । औषधि भन्दा पाँच सात गुणा बढी मूल्य तिरेर बिरामीले खरीद गर्न बाध्य छन्, त्यसैले सरकारलाई हाम्रो अनुरोध कि यसलाई बन्द गरिनु पर्छ, होईन बिरामीलाई दिनै पर्ने हो भने हामी नेपाली औषधि उत्पादकहरुले गुणस्तरीय ढंगबाट यस्ता प्रडक्ट बनाउन सक्षम छौँ, हामीलाई अनुमति दिनु परयो ।’
औषधि भन्दा प्राथमिकतामा न्युट्रास्युटिकल प्रडक्ट परेपछि….
‘केही बर्ष अघिको कुरा हो , बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईरहेका बिरामीलाई चिकित्सकले डिस्चार्ज गर्दा केही औषधि लेखिदिए । बिरामीले अस्पताल बाहिरको औषधि पसलमा गएर प्रेस्काईब पेपर देखाए । फार्मासिस्टले ती बिरामीलाई चिकित्सकले पाँचवटा औषधि लेखिदिएको भन्दै औषधिको मूल्य सुनाए । बिरामीसंग सबै औषधि किन्न सक्ने पैसा थिएन । बिरामीले फार्मासिस्टलाई भने पहिलो दोस्रो र तेस्रो औषधिको पैसा कटाउनुस चौथो र पाँचौँ म घर तिर पुगेर किनौला भने, फार्मासिस्टले उनले भने अनुसार औषधि दिएर पठाए । तर उनलाई निको भएन । पछि थाहा भयो, चिकित्सकले लेखिएको पहिलो दोस्रो र तेस्रो औषधि भनेको न्युट्रास्यिुटिकल्स प्रडक्ट रहेछ । चौथो र पाँचौँ मात्रै खासमा औषधि रहेछ । औषधि नै नखाएपछि बिरामीलाई ठिक हुने कुरै भएन । केही केही चिकित्सक र फार्मासिस्टले पैसाको लोभमा यसरी पनि झुक्याउने गरेका छन् । र यो घटना बढ्दो क्रममा छ,’ एक जना औषधि व्यावसायीले घटना सुनाए ।
उनले पछिल्लो समय कतिपय चिकित्सकहरु नै यस्ता प्रडक्टको आयात गर्न प्रत्यक्ष परोक्ष रुपमा सहभागी भएको समेत बताए । ‘त्यसैले यस्ता औषधिहरु डाक्टरले नलेख्लान भन्ने नसोचौँ । बरु यसलाई कसरी व्यवस्थित गर्ने भन्ने तर्फ जाँऔँ,’ ती व्यावसायीले भने ।
सम्पर्क इमेल : [email protected]