स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्यले नै चलाउँछ : स्वास्थ्य सचिव पोखरेल

'स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्छु भन्ने अस्पतालहरु पछुताउनु पर्छ'

काठमाडौँ, १५ असार । स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई नदिईने स्पष्ट पारेका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नेपाल स्वास्थ्य क्षेत्र रणनीति योजना ( २०२२-२०३० को मस्यौदा प्रस्तुतिकरण तथा छलफल कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा उनले स्वास्थ्य बीमाका विषयमा मन्त्रालयको धारणा राखेका हुन् ।

‘बजेटमा आए जस्तो स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनी मार्फत चलाउने भन्ने होईन् । यसमा हामीसबै क्लियर हौँ । मन्त्रालयले त्यसबारेमा आफ्नो धारणा सम्वन्धी ठाँउमा पठाईसकेको छ र निजी क्षेत्रमा दिने भन्ने होईन् । तर यसलाई प्रभावकारी बनाउन नीतिगत तथा कार्यगत सुधार गर्नुपर्ने जरुरी छ,’ उनले भने ।

सचिव पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने अस्पतालहरुले गल्ती गरिरहेको समेत टिप्पणी गरे । उनले स्वास्थ्य बीमा कार्यक्रम नचलाए अब धेरै अस्पताल बन्द हुने अवस्थामा पुग्ने बताउँदै अस्पताल सञ्चालकहरु पछि पछुताउने ठोकुवा गरे । उनले स्वास्थ्य बीमा कार्यक्रम नयाँ भएकोले केही अफ्टयारा र केहीले यसको दुरुपयोग गरेको समेत स्वीकारे ।

कार्यक्रममा मन्त्रालयका नीति योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०२२ २०३० का लागि तयार गरिएको मस्यौदाको प्रस्तुति करण गरेका थिए ।

सो अवसरमा स्वास्थ्य क्षेत्रबाट संस्थागत तथा पेशागत रुपमा प्रतिनिधित्व गरेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य पत्रकारहरुले मस्यौदा माथि टिप्पणी गर्दै संसोधन गर्नुपर्ने विषयमा आफ्ना धारणा राखेका थिए ।

सरकारले नेपाल स्वास्थ्य क्षेत्र रणनीति योजना ( २०२२ – २०३०) आगामी साउन देखि लागू गर्ने तयारीमा जुटेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *