आज अन्तर्राष्ट्रिय योग दिवस

नियमित योग अभ्यासले सकारात्मक उर्जा प्रदान गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नियमित योग अभ्यासले सकारात्मक गुण र कार्यक्षमताको विकास गर्ने बताएका छन्। उनले नियमित योगले रोगप्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने भन्दै नियमित योग अभ्यासले व्यक्ति तनावबाट मुक्त र स्वस्थ हुने पनि बताए ।

मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले योगले काममा सकारात्मक गुण र कार्यक्षमताको विकास गर्ने बताएका हुन्।

नियमित योग अभ्यासले शरीरमा रोगप्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने उनको भनाई छ। अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्पराले हामी सबैलाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। देउवाले महाभारतको प्रसंग उल्लेख गर्दै योग कार्यक्रमले नेपाल र भारतको सम्बन्ध थप प्रभावकारी हुने उल्लेख गरे।

जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले संयुक्त राष्ट्र संघमा राखेको प्रस्तावलाई नेपालले समर्थन गरेकोसमेत देउवाले स्मरण गरे। उनले योग कार्यक्रमको आयोजना गरेकोमा भारतीय दूतावासलाई धन्यवादसमेत दिए।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *