बालबालिकालाई लगाइने कोरोना विरुद्धको खोपको प्रभावकारिता ९१ प्रतिशत

पहिलो चरणमा २७ जिल्लामा लगाइने


काठमाडौँ, ४ असार । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाइने कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ ।

स्वास्थ्य सेवा विभाग र नेपाल स्वास्थ्य पत्रकार मञ्चले शुक्रवार आयोजना गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा रोकथाम नियन्त्रण सम्बन्धी अन्तरक्रियामा परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको बताए।

सरकारले यही असार ९ गतेदेखि पाँचदेखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर बायोएनटेक खोप लगाउन थालेको हो । विभागले खोप विद्यालयमा नै गएर लगाउने भएको छ । उनले खोप लगाउनका लागि खोप केन्द्रमा एक तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने जानकारी दिए।

उनले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको बताए । खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सुइ लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।

२७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।

यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

पाँच वर्षदेखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइने छ । यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ ।

विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले खोप सुरक्षित र प्रभावकारिता रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरे ।

खोप एक पालिकालाई एकै चरणमा सम्पन्न गर्ने गरिने छ । खोप केन्द्र तोकिएका विद्यालय र अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थामा खोप लगाइनेछ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल विद्यालयबाहिर रहेका बालबालिकालाई पनि खोजी खोजी खोप लगाइने बताउछन् ।

खोप सरकारलाई कोभ्याक्सले निःशुल्क उपलब्ध गराएको हो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा।. भक्त केसीले खोपले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने बताए ।

खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति दुई सय थप लक्षित सङ्ख्याका लागि थप एक जना स्वयंसेवक परिचालन गरिने छ ।

पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप लगाइनेछ ।

प्रदेश–१

झापा, इलाम, सुनसरी, मोरङ

मधेश प्रदेश

सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा

बाग्मती प्रदेश

मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक, काठमाण्डौ, भक्तपुर, र ललितपुरका विद्यालयका बालबालिकालाई खोप लगाइनेछ ।

गण्डकी प्रदेश

कास्की र नवलपरासी पूर्व

लुम्बिनी प्रदेश

नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके र बर्दिया

कर्णाली प्रदेश

सुर्खेत

 सुदूरपश्चिम प्रदेश

कैलाली, कञ्चनपुर र डडेल्धुरामा खोप लगाइनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *