नेपाल स्वास्थ्यकर्मी र स्वास्थ्य कर्मचारी युनियनमा नर्सिङ पेशाकर्मीको आवद्धताको किन महत्वपूर्ण ?

नेपालका स्वास्थ्यकर्मीहरु मध्ये संख्याको र कार्यक्षेत्रको हिसाबले अति महत्वपूर्ण भूमिका निर्भाह गर्नेहरुमा नर्सिङ पेशाकर्मीहरु पर्दछन् । नेपाल नर्सिङ परिषदमा अहिलेसम्म १ लाख ६ हजार २०५ जना नर्सहरुको नाम दर्ता भएको छ ।

जसमा विज्ञ नर्सको रुपमा ५९८ जना , नर्स मात्रै ६८ हजार ३१६ जना, मिडवाईफ २८ जना, अनमी ३६ हजार ४४६ जना र ८४५ जना विदेशी नर्सहरु छन् ।

गत २२ मार्च २०२२ को तथ्यांक हेर्दा परिषदमा ३२ हजार १६१ जनाले पुन दर्ता गरेका छन् । जसमा २२ हजार २९ जना नर्स र १० हजार १३२ जना अनमीहरु छन।

यसबाट के स्पष्ट हुन्छ भने लगभग ४५ ५० हजारको हाराहारीमा नेपालमा निजी, सरकारी र गैर सरकारी स्वास्थ्य संस्थाहरुमा नर्सहरू कार्यरत छन् ।

तर राज्यको एक मात्र नर्सिङ पेशाकर्मीहरुको शितल साझा चौतारी नेपाल नर्सिङ सङ्घमा भने जम्माजम्मी १४ हजार हाराहारीमा नर्सहरु दर्ता भएका छन् ।

नर्सहरुको हक र अधिकार संरक्षित गर्ने र आम समुदायको स्वास्थ्य फलीभूत बनाउने साथै आम नागरिकहरुको सुरक्षित स्तरीय स्वास्थ्य सेवा उपभोग गर्न पाउने अधिकार, दैनिक व्यावहारिक रूपमा प्रयोजन गर्न सक्ने बनाउने प्रमुख दायित्वको साथ स्थापित नेपाल नर्सिङ सङ्घ यसको लागि दिनरात लागिपरेको छ।

हामी यस्तो राज्यमा छौ जहाँ विश्वको मापदण्डमा दोश्रो ठुलो पानीको स्रोत छ, शान्तिका अग्रदूत बुद्धको जन्म भूमि छ, विश्वको शिर सगरमाथा छ। त्यस्तै विकासको लागि सम्भावना धेरै बोकेको देश, प्राकृतिक विविधता, संस्कृति अनेकतामा एकता भएको देश नेपालका हामी सकारात्मक सोच र अदम्य साहस बोकेको स्वास्थ्य कर्मीहरु छन्।

नर्सिङ मात्र महिलाको पेशा हो भनेर पहिले नै महिलालाई अति विभेदपूर्ण पक्षपोषण गर्ने आदिम युगको जस्तो अवधारणा आजको मितिसम्म हाम्रा जनमानसको मानसपटलमा व्यापक रुपमा गहिरो छाप गढेको पाईएको छ।

त्यसैले जुन गतिमा नर्सिङ क्षेत्रको विकास हुनु पर्ने हो त्यो हुन सकेको छैन साथै जति नर्सिङ पेशाकर्मीहरु सम्मानपूर्वक कार्य सम्पादन गर्न पाउनु पर्ने वातावरण र त्यसलाई दैनिक क्रियाकलापमा प्रयोजनमा ल्याउँदा चाहिने न्यूनतम अधिकार सहित सेवा सुविधा त्यो पाइएको साथै सरकार वा सम्बन्धित निकायले अभ्यासमा ल्याइएको छ भन्ने आभास गर्न पाउनु पर्ने हो त्यो पाई आएको अवस्था देखिएको छैन।

यसैको लागि नेपाल नर्सिङ सङ्घ स्थापना कॉल देखि आजको दिन सम्म निरन्तर संघर्षरत छ। नेपाल नर्सिङ सङ्घ कुनै पनि ट्रेड युनियनसंग समन्वय र सहकार्य गर्न नजानेको, त्यस्तै सहकार्य गर्नुपर्दछ भन्ने आवस्यकता महसुस गरेर पनि त्यही सोच अनुरूप गर्न नसकिएको हो ।

त्यस्तै यस सङ्घको पदाधिकारीहरु यस युनियनमा प्रत्यक्ष सहभागी नभएको र यसले अपनाएका कार्य नीति प्रति विश्वस्त हुन नसकेकोले कता कता यस सङ्घले आफुलाई आफ्नो उद्देश्य अनुरुप उपलब्धि हासिल गर्न नसकेको साथै एक कमजोर लाचार सङ्घ महसुस गरेको हो कि भन्ने अनुभूति हुन आएको छ।

त्यसैले नेपालमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन जस्तो ट्रेड युनियनमा नर्सिङ पेशाकर्मी आबद्द भै नेतृत्व तहमा सक्रिय सहभागी हुन जरुरी छ।

विगत कोरोना महामारीमा नर्सिङ सङ्घले जति आफ्नो सशक्त उपस्थिती कार्य क्षेत्रमा देखाउन सफल हुनु पर्ने थियो त्यो भएको थिएन। त्यसैले नै नर्सिङ पेशाकर्मीहरुको पारिश्रमिक, सामाजिक सम्मान दिलाउन सफल हुन सकिएको छैन।

कति मेडिकल कलेजहरू आफु मुनाफा आर्जन गरी रहँदा पनि त्यहाको नर्सहरूले पारिश्रमिक पाएका छैन, त्यसको लागि आफ्नो हक र अधिकारबारे नर्सिङ पेशाकर्मीहरु सशक्त आवज बुलन्द गर्न सकेका छैनन्। उनीहरूलाई एकताको सूत्रमा बाँध्ने र समन्वय सहकार्यको भूमिका निभाउने संगठन प्रति विश्वस्त पनि हुन सकी रहेको छैन। त्यसैले यो  नेपाल स्वास्थ्य कर्मी तथा कर्मचारी युनियनू नर्सिङ पेशाकर्मीहरु जस्तो दिनरात खटिने स्वास्थ्य सेवा प्रणालीको प्रमुख र संख्याको हिसाबमा अति नै ठूलो जनशक्तिलाई सहभागी गराउँदै उचित स्थान दिने हो भने आम नागरिकको स्तरीय स्वास्थ्य सेवा उपभोग गर्न पाउने मौलिक अधिकार संरक्षण र प्रवर्धन गर्न सकिने छ।

नेपाल नर्सिङ सङ्घको एक वरिष्ठ उपाध्यक्षको हैसियतले देश भरी छरिएर रहेका नर्सहरुलाई यस युनियनमा आबद्द हुन हार्दिक अनुरोध गर्दछु।

नर्सिङ सङ्घको स्थापना काल देखि पेशागत हक अधिकार लगायत स्तरीय स्वास्थ्य सेवा विकास गर्नमा कार्यरत छन् तर आजको मिति सम्म किन नर्सहरू बढी शोषित र पीडित छन् त ?

हामी नर्सहरू यस्ता सङ्घ र संगठनबारे अनभिज्ञ हुनु, समन्वय र सहकार्य गर्न नसक्नु, आफु र आफ्नो पेशालाई मजबूत बनाउन अन्य युनियन र संगठन पनि आवश्यक छ भनी पहिचान गर्न नसक्नु पनि ठूलो कमी कमजोरी नर्सिङ पेशाकर्मीको हो भन्ने मेरो ठम्याइ पनि छ। यो यसकारणले उल्लेख गर्दै छु कि कतिपय नेपाल नर्सिङ सङ्घले उठाउँदै आएको कुरो यो युनियन संग सहकार्य गरी फत्ते गरेको जीवित इतिहास पनि छ।

जस्तो देशव्यापी नर्सिङ सङ्घले भक्तपुर अंग प्रत्यारोपण अस्पतालमा नर्सिङ पेशाकर्मीको पुर्न बहालीको माग सहित १८ बुँदे माग लिएर गरेको आम हडताल सफल पार्न एकजुट भएको हो। यसैको उपज हो नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको स्थापना, त्यसैको निरन्तरता हो स्कूल नर्स।

त्यस्तै ठमेल सोह्रखुट्टे मनमोहन सामुदायिक अस्पतालमा भएको रिले अनशनमा स्वास्थ्य कर्मी तथा कर्मचारीहरुको माग सम्बोधन गराउन सफल भाको हो। त्यस्तै कैयौ सरकारी, निजी र प्रतिष्ठानका अस्पतालहरुमा त्यहाका स्वास्थ्य कर्मी तथा कर्मचारीहरुको कुरो सम्बोधन गर्न र स्वास्थ्य कर्मी तथा कर्मचारी मैत्रीमय बनाउन बाध्य बनाइएको छ।

स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोबल उच्च पार्दै जनतालाई अत्यावश्यक स्तरीय वैज्ञानिक स्वास्थ्य सेवा प्रदान गर्न पूर्ण तवरमा समेटिने अति वैज्ञानिक, संविधान सम्बोधन गर्ने एक मात्र अति विश्वासिलो र देखिने गरी कार्य गर्ने संस्था हो भन्दा अत्युक्ति नहोला।

यो संस्था मार्फत कोरोना महामारीको उच्चतम कहरको अवधिमा पनि राज्यको मध्य बिंदु मेडिकल सिटी चितवन भरतपुरमा नर्सहरुको अवस्था र सेवा सुविधा बारे सर्वेक्षण गर्ने कार्य गरियो।

यसै युनियनसंग अत्यावश्यक सलाह गर्दै पोखरा, नेपालगन्ज, विराटनगर, धरान, वीरगन्ज, नेपालगन्ज, काठमाडौं शहरका निजी तथा गैर सरकारी र सरकारी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य कर्मी तथा कर्मचारीहरुको मनोबल उच्च बनाउने कार्य गरियो।

बाँके नेपालगञ्ज अस्पतालमा स्वास्थ्य कर्मी तथा कर्मचारी माथि गरिएको जघन्य अपराध बिरुद्द चट्टान झै अडान लिएर पीडित पक्षलाई न्याय दिलाउन अहम भूमिका निभाउन नेपाल नर्सिङ सङ्घ जिल्ला नर्सिङ सङ्घ मार्फत पूर्ण सफलता हासिल गर्न सक्षम भयो। त्यस्तै कोहलपुर नगरपालिकामा नर्सिङ पेशाकर्मी माथि गरिएको विभेद पूर्ण व्यवहारमा पीडित नर्सलाई न्याय दिलाउने कार्य फत्ते गर्‍यो ।

यसरी धेरै चुनौतीपूर्ण अवस्थामा यो युनियनले नर्सिङ पेशाकर्मीलाई नेपाल नर्सिङ सङ्घ एकाई, जिल्ला र केन्द्र सम्पूर्ण निकायलाई साथ दिई आईरहेको छ।

त्यसैले यो चौथो राष्ट्रिय अधिवेशनमा नर्सिङ पेशाकर्मीहरुको सहभागिता भव्य सभ्य तवरमा सक्दो धेरै बढाऔं। यो युनियनले मात्र स्वास्थ्य कर्मीहरुको वा मात्र स्वास्थ्य कर्मचारीहरुको कुरो छलफल गराउँदैन। यो युनियनले पूर्ण रुपमा सबैलाई समेटेर पूर्णतामा विश्वास राखेर कार्य गर्दछ।

नर्सिङ पेशाकर्मी जति कोरोना महामारी पश्चात पीडित स्वास्थ्य क्षेत्रमा अरु को होला ?

चिकित्सक हरुको निजी क्लिनिकल अभ्यास चल्दछ, अरु पारामेंडीकहरुको पनि निजी अभ्यास चल्दछ, नर्सिंग को खै ? नर्सिङ शिक्षकहरु धेरैले आफ्नो रोजगारी गुमाए कारण नयाँ चिकित्सा शिक्षा आयोगको, स्वास्थ्य मन्त्रालय र सिटिइभिटी बीचको सहकार्य र समन्वय आदिको अभाव । कलेजहरुले कोरोना अवधिमा जरूर विद्यार्थी हरुबाट शुल्क लिए तर शिक्षकहरुलाई कलेज बन्द भएको अवस्थामा काम गरिएन भनेर हुनेको रकमी बिदा कटाए, नहुनेको तलब कटाए, जसरी पनि शिक्षक मर्कामा । यसको लागि नर्सिङ सङ्घ आफैले केही गर्न सकिने अवस्था छैन, त्यसैले यस्ता संस्था अति आवश्यक छ नर्सिङ सङ्घ आफैलाई पनि।

यहाँ ठूलो इन्जिनवाला जेट विमान, सानो इन्जिनवला विमान र हेलिकप्टरको कुरो गरिएको हैन, यहाँ समष्टिगतको कार्य फत्ते गर्ने कुरो छ। स्वास्थ्यको क्षेत्रमा यो ठूलो यो सानो हुँदैन, समष्टिगत समूहगतको कुरो आउँदछ जुन यो युनियनले आफ्नो प्रमुख ध्येय नै बनाएको छ।

त्यसैले एक नर्सिङ पेशाकर्मी लगायत अधिकार प्राप्त वरिष्ठ उपाध्यक्ष नेपाल नर्सिङ सङ्घको हैसियतले साथै एक मानसिक नर्सिङ शिक्षाको विज्ञ शिक्षकको आधिकारिक प्राप्त हैसियतले आफ्नो कुरो पस्केको हो। कसैलाई यो लेख प्रति असहमति पनि जनाउन सक्नु हुनेछ त्यसलाई खुल्ला हृदयले स्वीकार गर्नेछु।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *