पाल्पा : पूर्वखोलामा १८०० विद्यार्थीको निशुल्क मुटु परीक्षण

पाल्पा, १७ जेठ । जिल्लाको पूर्वखोला गाँउपालिका १ हजार ७९७ जना विद्यार्थीको निशुल्क मुटु परीक्षण गरिएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ र नेपाल हृदयरोग निवारण प्रतिष्ठान पूर्वखोला ईकाईको आयोजनामा दुई दिन सम्म चलेको निशुल्क शिविरमा विद्यार्थीहरुको मुटु परीक्षण गरिएको हो ।

शिविरमा विद्यालय तहका विद्यार्थीहरुको मुटुको ईको परीक्षण साथै अन्य मुटुसम्वन्धी स्वास्थ्य जाँच गरिएको थियो ।

‘हिजो र आज गरी  गाँउपालिकाको वडा नं १ को सिलुवा, वडा नं ५ को बीरकोट र वडा नं ६ को हेकलाङमा शिविर सञ्चालन भयो । त्यसमा ९१८ छात्र र ८७९ छात्रा गरी कुल १ हजार ७९७ जनाको परीक्षण सम्पन्न भयो,’ हृदयरोग निवारण प्रतिष्ठान पूर्वखोला ईकाईका सचिव हरिप्रसाद न्यौपानेले भने ।

शिविर सञ्चालन गर्न काठमाडौं्रबाट बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरुको टोली पूर्वखोला आएको थियो । सो टोलीले सोमबार बीरकोट र हेकलाङ तथा मंगलबार सिलुवामा शिविर सञ्चालन गरेको थियो ।

‘दुई दिनमा करीब १८०० जना बालबालिकाहरुको मुटुको ईको जाँच गरियो । त्यसमध्ये १ जनाको तत्कालै शल्यक्रिया गर्नुपर्ने देखियो । अरु केहीलाई नियमित रुपमा औषधि खानुपर्ने देखियो, हामीले आवश्यकता अनुसार नजिकको अस्पतालमा गएर फलोअप गर्न समेत सुझाव दिएका छौँ,’ शिविर पछि टोलीको नेतृत्व गरेका डा. रेग्मीले भने ।

शिविरका लागि केन्द्रबाट डा रेग्मीले मुटुरोग विशेषज्ञहरु डा प्रेमराज बैद्य, डा उर्मिला शाक्य, डा अजय अधिकारी नर्स प्रशंसा रेग्मी ल्याएका थिए । उनीहरुलाई स्थानीय तहका स्वास्थ्यकर्मीहरुले सघाएका थिए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले गतवर्ष पनि पूर्वखोलामा आम सर्वसाधारणलाई लक्षित गरी बृहत निशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *