यी हुन् प्रसव फिस्टुलाको नि:शुल्क उपचार हुने देशका तीनवटा अस्पताल

के हो प्रसव फिस्टुला ?

काठमाडौँ, ९ जेठ । के तपाईँलाई थाहा छ ? सरकारले देशका तीनवटा अस्पतालबाट महिलाहरुमा देखिने एक प्रकारको समस्या प्रसब फिस्टुलाको निशुल्क उपचार गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ मोडेल अस्पताल प्रदर्शनीमार्ग काठमाडौँ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक अस्पताल सुर्खेतबाट प्रसब फिस्टुलाको निशुल्क उपचार हुँदै आएको छ ।

के हो प्रसब फिस्टुला ?

प्रसूतिपछि योनीबाट निरन्तर रुपमा पिसाव वा दिसा वा दुबै चुहिने समस्यालाई प्रसव फिस्टुला भनिन्छ । लामो र कठिन प्रसब व्यथाको अवस्थामा दक्ष प्रसूतिकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउनाले प्रसव फिस्टुला हुन जान्छ ।

डा गणेश दंगाल भन्छन्, ‘प्रसूति फिस्टुला अथवा प्रसब फिस्टुला भनेको एउटा असामान्य प्वाल हो । जुन कठिन प्रशव अवस्थामा बच्चाको टाउकोले थिचेर योनी र मुत्राशय, योनी र मलासय संग बन्ने गर्दछ ।’

यो समस्या देखिएपछि महिलाहरुमा चौविसै घण्टा पिसाव रसाउने, दिसा योनीबाट आउने, चौविसै घण्टा प्याड लगाइराख्न पर्ने, दिसा र पिसावको गन्ध आउने गर्दछ ।

यस्तो समस्याबाट पिडीत अधिकांश महिलाले परिवारबाटै घृणा, समाजबाट तिरस्कार अपहेलित हुने अवस्था आएको पाइएको छ । घृणा, तिरस्कार र अपहेलनामा परेका महिलाले आत्महत्याकै प्रयास गरेको समेत उदाहरण छन् ।

प्रदर्शनीमार्ग स्थित काठमाडौं मोडल अस्पतालका अनुसार फिस्टुला फाउन्डेशनले आफ्नो अस्पतालमा आउने यस्ता बिरामीलाई आवश्यक पर्ने शल्यक्रिया निशुल्क गर्दै आएको छ । शल्यक्रिया मात्रै होईन, बिरामीले खाना र बेड चार्ज पनि तिर्नु पर्दैन । शल्यक्रिया पछि अस्पताल बसाई लगभग दुई साताको हुन्छ र त्यो सबै निशुल्क हुन्छ ।

काठमाडौं मोडेल अस्पतालमा यसरी सुरु भयो प्रसव फिस्टुलाको उपचार सेवा

काठमाडौँ मोडल अस्पतालका अनुसार समाजमा प्रसव फिस्टुला भएका महिलाको संख्या धेरै भएको पाइएपछि यो समस्यालाई न्युनिकरण गर्न अस्पतालबाट तीन जना कन्सलटेन्ट डा अरुणा कार्की, डा गणेश दंगाल र डा हेमाकुमारी प्रधानले सन् २०१३ मा इथोपिया गएर यस सम्वन्धी जटिल शल्यक्रिया सम्वन्धी प्रशिक्षण लिएर आएका थिए ।

उनीहरु फर्केपछि सन् २०१४ बाट यो सेवा काठमाडौँ मोडल अस्पतालले सुरु गरेको हो ।

अहिले यस्तो उपचार गर्न बर्षमा ८० देखि १०० जना महिला आउने गरेको र निशुल्क सेवा लिएको समेत अस्पतालले जनाएको छ ।

यसैबीच अस्पतालले सोमबार विविध जनचेतनामुलक कार्यक्रम गरी अन्तराष्ट्रिय फिस्टुला दिवस मनाएको छ । ‘फिस्टुला अब अन्त्य गर्नुहोस् : गुणस्तरीय स्वास्थ्य सेवामा लगानी गर्नुहोस् र समुदायलाई सशक्त बनाउनुहोस्’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *