मङ्कीपक्सः यो कस्तो रोग हो ? कसरी सर्छ ?

बीबीसी । मङ्कीपक्स गराउने भाइरस बिफर भाइरसकै वर्गमा पर्छ। यद्यपि यो कम गम्भीर र कम सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्।

यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशहरूका उष्णतटीय वर्षावननजिक रहेका दुर्गम भेगहरूमा पाइन्छ।  त्यहाँ यो भाइरसका पश्चिम अफ्रिकी र मध्य अफ्रिकी गरी दुईवटा प्रकार छन्।

यूकेमा फेला परेका दुईजना बिरामीहरू नाइजिरियाबाट आएका थिए। त्यसैले उनीहरू पश्चिम अफ्रिकी भाइरसबाट सङ्क्रमित भएको हुनसक्ने सम्भावना छ। त्यसले प्रायः मध्यम खालका असरहरू पार्छ। यद्यपि यो अझै पुष्टि भएको भने छैन।

मङ्कीपक्स भाइरस सरेका तेस्रा व्यक्ति स्वास्थ्यकर्मी हुन्। उनलाई बिरामीबाट सङ्क्रमण सरेको थियो।

भर्खरै फेला परेका चार सङ्क्रमितमध्ये तीन जना लन्डनमा र एक जना उत्तरपूर्वी इङ्ग्ल्यान्डमा छन्। तर उनीहरूको एकअर्कासँग सम्बन्ध छैन र उनीहरू देशबाहिर अन्यत्र गएका पन छैनन्। उनीहरूलाई यूकेमै सङ्क्रमण भएको देखिन्छ।

यूकेएचएसएका अनुसार आफूलाई यो भाइरस सर्न सक्छ भन्ने डर भएका व्यक्तिले स्वास्थ्यकर्मीसँग परामर्श लिन सक्छन्।

लक्षणहरू के हुन् ?

सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन्।

एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ।

त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुनसक्छन्। डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ।

सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ।

सङ्क्रमण कसरी हुन्छ ?

सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउँदा मङ्कीपक्स सर्छ। फुटेको छाला, श्वासनली वा आँखा, नाक वा मुखबाट यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ।

यसलाई यौनबाट सर्ने सङ्क्रमणको रूपमा व्याख्या गरिएको छैन। तर शारीरिक सम्बन्धको क्रममा प्रत्यक्ष सम्पर्कमार्फत् पनि यो सर्न सक्छ।

त्यस्तै बाँदर, मुसालगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि फैलिन सक्छ।

यो कति खतरनाक छ ?

प्रायशः यस भाइरसले मध्यम खालका असरहरू गर्छ।

कहिलेकाहीँ यसका प्रभावहरू ठेउला हुँदा जस्तै देखिन्छन् र केही सातामै निको हुन्छ।

यद्यपि यो भाइरसको सङ्क्रमण कहिलेकाहीँ निकै गम्भीर हुनसक्छ र मङ्कीपक्सका कारण पश्चिम अफ्रिकामा बिरामको मृत्यु भएको समेत पुष्टि भएको छ।

यसको प्रकोप कति सामान्य ?

थुनेर राखिएको एउटा बाँदरमा यो भाइरस पहिलो पटक पहिचान गरिएको थियो।

सन् १९७० देखि नै अफ्रिकाका १० वटा देशमा यो भाइरसका कारण प्रकोप निम्तिएको देखिएको छ।

सन् २००३ मा अमेरिकामा यसको प्रकोप देखियो। मङ्कीपक्स अफ्रिकाबाहिर देखिएको त्यो पहिलो पटक थियो।

त्यतिबेला देशमा आयातित विभिन्न साना स्तनधारी प्राणीबाट समथल भागमा पाइने कुकुरहरू सङ्क्रमित भएका थिए। कुकुरबाट मानिसलाई सङ्क्रमण सरेको थियो। कुल ८१ जनामा सङ्क्रमण देखिएको भए पनि कसैको उक्त भाइरसका कारण मृत्यु भएको थिएन।

अभिलेखहरूका अनुसार सन् २०१७ मा नाइजिरियामा यसको सबैभन्दा ठूलो प्रकोप देखियो। त्यसअघि देशमा सङ्क्रमण पुष्टि भएको लगभग ४० वर्षपछि त्यहाँ नयाँ सङ्क्रमण देखिएको थियो।

त्यहाँ १७२ जनामा मङ्कीपक्स देखिएको अनुमान थियो। तीमध्ये ७५ प्रतिशत सङ्क्रमितहरू २१ देखि ४० वर्ष उमेर समूहका पुरुष थिए।

उपचार के हो ?

मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन।

तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ।यो भाइरसको सङ्क्रमण रोक्नको निम्ति बिफरविरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी साबित भएको छ र अझै पनि त्यसको प्रयोग गरिन्छ।

सर्वसाधारणले डराउनुपर्छ ?

विज्ञहरूले यूकेमा मङ्कीपक्सको देशव्यापी प्रकोपको जोखिम नरहेको बताएका छन् र पब्लिक हेल्थ इङ्ग्ल्यान्डले जनताका लागि जोखिम कम भएको जनाएको छ।

नटिङ्गम विश्वविद्यालयका मलेक्यलर भाइरोलजीका प्राध्यापक जोनाथन बलले भने, ‘सुरुमा मङ्कीपक्सबाट सङ्क्रमित बिरामीसँग सम्पर्कमा आएका ५० जनामध्ये एक जना मात्र सङ्क्रमित भएको तथ्यले भाइरस कति सङ्क्रामक छ भन्ने देखाउँछ।’

उनका अनुसार यसले देशभरि प्रकोप आउन लागेको सङ्केत गर्दैन।

पब्लिक हेल्थ इङ्ग्ल्यान्ड पीएचईमा न्याश्नल इन्फेक्शन सर्भिसका कार्यकारी निर्देशक डा. निक फिनले भने, ‘मङ्कीपक्स मानिसमा सहजै सर्दैन र सर्वसाधारण मानिसमा हुने जोखिम निकै कम छ भन्ने कुरामा जोड दिनु महत्त्वपूर्ण छ।’

पीएचईले बिरामीसँग नजिकको सम्पर्कमा रहेका व्यक्तिलाई परामर्श दिन र उनीहरूलाई आवश्यकताअनुसार अनुगमन गरिरहेको छ।

स्रोत: पब्लिक हेल्थ इङ्ग्ल्यान्ड र विश्व स्वास्थ्य सङ्गठन

 

 

 

 


Leave a Reply

Your email address will not be published.