महिलाका लागि ‘स्यानीटरी प्याड’ नि:शुल्क गर्ने योजनामा सरकार
काठमाडौँ, ४ जेठ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिलाका लागि स्यानीटरी प्याड निशुल्क गर्ने योजनामा सरकार लागेको बताएका छन् ।
बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै डा उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरुको समस्याको रुपमा देखा परेको उल्लेख गर्दै ती समस्या हल गर्नका लागि सरकारले सबै महिलाका लागि स्यानिटरी प्याड निशुल्क गर्ने योजना बनाएको बताएका छन् । अहिले सरकारले विद्यालयहरुमा महिनावारीमा लगाइने प्याड निःशुल्क वितरण गरिरहेको छ ।
डा पौडेलले भने अब सबै महिलाहरुलाई निःशुल्क वितरण गर्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका हुन् ।
उनले पहाडका विद्यालयहरुमा महिला छात्राबासको संख्या बढाउने विषयलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने बताए । यस्तै महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिईने जानकारी दिए ।
उनले महिला सेल बनाएर आयोगले महिलाहरुको हितमा काम गरिरहेको र त्यसलाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।
सम्पर्क इमेल : [email protected]