स्वास्थ्यकर्मीको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेशको चिकित्सक संघद्धारा स्वागत

काठमाडौँ, २६ बैशाख । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७९ जारी भएकोमा खुशी व्यक्त गरेको छ ।

संघले सोमबार पत्रकार सम्मेलन गर्दै अध्यादेश प्रमाणित गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी देखि निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा तथा उनी नेतृत्वको मन्त्रिपरिषद्को टिम, प्रस्ताव अघि बढाउने स्वास्थ्य मन्त्रालय, कानून मन्त्रालय र त्यहाँका अधिकारीहरुलाई विशेष धन्यवाद दिएको छ ।

त्यसो त सरकारले यस्तै अध्यादेश गत वर्ष जेठमा पनि जारी भएको थियो । त्यसबेला जारी भएको अध्यादेशमा छुटेका केही महत्वपूर्ण विषय यसपटकको अध्यादेशमा समेटिएको संघले बताएको छ ।

‘गतवर्ष पनि अध्यादेश आएको थियो त्यसबेला पनि खुशी थियौँ । तर यसपटककोमा गतवर्ष छुटेका केही महत्वपूर्ण व्यवस्थाहरु समेटिएको छ । त्यसैले पनि यसपटक हामी अझ बढी खुशी भएका छौँ’ संघका अध्यक्ष डा. लोचन कार्कीले भने ।

उनका अनुसार यसपटक जारी भएको अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुरयाउने तथा स्वास्थ्यकर्मी वा स्वाथ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुरयाउने मुद्धामा तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मनासिव आधार भएमा मुद्धा हेर्ने अधिकारीले अभियुक्तहरुलाई पूर्वपक्षको लागि थुनामा राख्नेछ भन्ने प्रावधान थप गरिएको छ ।

उनले यो प्रावधानले चिकित्सक तथा स्वास्थयकर्मी एवं स्वास्थ्य संस्था माथी हुने अस्वभाविक र गैरमानवीय कार्यलाई पूर्णरुपमा निषेध गर्ने विश्वास रहेको समेत बताए ।

 

कार्यक्रममा संघका महासचिव डा बद्रि रिजालले अध्यादेशका बारेमा सबैलाई जानकारी गराउन देशभरका आफ्ना कार्यालय, स्वास्थ्य संस्था तथा अस्पतालमा फ्लेक्स बनाई सवैलाई सूचित गर्ने बाताबरण बनाउन अनुरोध गरेका छन् ।

अध्यादेशलाई स्थायी कानूनमा समेटनका लागि ६ महिना भित्र संसदबाट पास गर्नु पर्ने हुन्छ । संघले भने यो विषय आम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासंग जोडिएको विषय भएकोले यसमा संसदका सबै सदस्यहरु एक मत भएर पास हुने विश्वास लिएको उल्लेख गरेको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *