विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह २०२२

बालबालिकाको आँखामा हुने क्यान्सर : रेटिनोब्लास्टोमा के हो ?

रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो । यो नवजात शिशु देखि पाँच वर्ष मुनिका बालबालिकाहरुको देखा पर्दछ ।

१५ हजार नवजात शिशु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुने सम्पुर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यान समेत जान सक्दछ ।

नेपाल लगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ तर विकसित देशहरुमा भने ५ प्रतिशत भन्दा कम पाइएको छ ।

रेटिनोब्लास्टोमा एउटा जटिल रोग भएता पनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामानै चिकित्सक कहाँ गई रोग पत्ता लगाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ ।

रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो । यस्तो लक्षण देखिएता पनि बालबालिका भने स्वस्थ नै देखिन्छन् । जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारको लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो ।

यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु,आखाँको आकार ठूलो हुदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन् ।

उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ । यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यान सम्म जाने जोखिम रहन्छ ।

डा.पुर्णिमा राजकर्णिकारका अनुसार,“हाम्रो समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकाहरुलाई भाग्यमानी ठान्ने चलन छ । र यी पनि रोगको लक्षण हुन सक्छन् भन्ने ज्ञान छैन ।

कतिपय मानिसले भने यी लक्षणका जटिलतालाई बुझेका हुदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जानमा ढिलाई गर्छन् । यीनै कारणले गर्दा यो रोग लागेका बालबालिकाहरुलाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ ।”

यो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखमा देखा परेमा यो रोग वंशाणुगत हुने तथा शरिरका अन्य भागमा पनि क्यान्सर देखिने संभावना धेरै हुन्छ ।

यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने हुनाले अन्य सदस्यको पनि जाँच गराउनुपर्छ ।

यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी,थरमोथेरापी,क्रायथेरापी र रेडियोथेरापी इत्यादी प्रमुख उपचार पद्दतिमा पर्दछन् ।

प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखा सहित आँखा वरपरका हड्डी समेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारण मध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको देखिन्छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्ष देखि हुदै आईरहेको छ । विगत ६ वर्ष देखि आँखाको क्यान्सर रोग विभागबाट नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पुर्णिमा राजकर्णिकारद्धारा अझ विस्तृत रुपमा यसको उपचार भईरहेको छ ।

यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आईज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ ।

यसैबीच,

विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह २०२२ को सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यहि वैशाख २५ देखि ३१ गतेसम्म सचेतना सप्ताह मनाउँदैछ । जसमा अस्पताल हाता भित्र यससम्बन्धी जानकारी दिने ब्यानर, फ्लेक्स, ब्रोसर सहितको जानकारी डेस्क राखिनेछ भने आमसंचारका विभिन्न माध्यमहरु रेडियो, भिडियो, सामाजिक संजाल आदिको प्रयोग गरिने बताइएको छ ।

प्रतिष्ठानले साताभरि आँखामा क्यान्सर भएका बालबालिकाहरुको निःशुल्क जाँच तथा उपचार गर्ने बताएको छ ।

यस्तै आज दिउसो त्रि.वि.शिक्षण अस्पतालको आँखा विभागमा दृष्टि र जिवन जोगाउन समयमै रेटिनोब्लास्टोमा पत्ता लगाई उपचार गर्ने विषयक अन्र्तक्रिया कार्यक्रम संचालन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा विभिन्न अस्पतालबाट आएका बालरोग विशेषज्ञ साथै बालरोग आवाशिय चिकित्सकलाई आँखा विशेषज्ञद्धारा यो रोग कसरी छिटो पत्ता लगाउने र उपचारको लागि जतिसक्दो छिटो आँखा अस्पतालमा पठाउने सम्बन्धि जानकारी प्रदान गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

आज हुने कार्यक्रममा यस रोगबाट मुक्त भईसकेकाहरु पनि सहभागी हुने छन् ।

३ ३ ३

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *