आइतबारको सरकारी विदा अब स्वास्थ्य संस्थामा पनि लागू हुने

बैठकमा सहभागी सरोकारवालाहरुले के भने ?

काठमाडौँ, २२ बैशाख । आगामी १ जेठ देखि सरकारी अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक अन्य सरकारी संस्थामा आइतबार पनि विदा हुने भएको छ । बुधबार सरोकारवालासंग छलफल गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि मन्त्रिपरिषदको निर्णय कार्यान्वयन हुने गरी शनिबार र आइतबार सार्वजनिक विदा दिने निस्कर्षमा पुगेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालीहेल्थसंग कुरा गर्दै भने, ,तत्कालका लागि मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्ने कुरा भयो । आइतबारको सेवा सुचारु गर्ने भन्ने विषयमा तत्काल निष्कर्षमा पुग्न सकिएन ।’

उनका अनुसार अर्को निर्णय नहुँदासम्म अब अस्पतालहरुमा शनिबार जस्तै आइतबार पनि इमरजेन्सी र इन प्यासेन्ट सर्भिस हुन्छ तर आइतबार ओपिडी तथा नियमित शल्यक्रियाहरु नहुन सक्छ ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलको अध्यक्षतामा बिहीबार मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक, मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरु, विभिन्न स्वास्थ्य सम्वद्ध ट्रेड युनियन, पेशागत संघ संगठनका पदाधिकारी, प्रतिनिधि, केन्द्रीय अस्पतालका निर्देशकहरुको सहभागिता थियो ।

छलफलमा के कुरा भयो ?

कार्यक्रमको सुरुमै नीति योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले ‘आगामी १ जेठ देखि शनिबार आइतबार सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय र आइतबार अस्पतालका ओपिडी तथा अप्रेसन जस्ता सेवा बन्द हुँदा जनतालाई अफ्टेरो पर्छ कि भन्ने स्वास्थ्य मन्त्री ज्यूको धारणा बाहिर आइसकेको छ, के गर्ने हो ? तपाईँहरुको यसमा धारणा के छ ? यसबारेमा सल्लाह सुझाव लिन र तपाईँहरुको धारणा बुझ्नका लागि यो अन्तरक्रियाका गरेका हौँ,’ भन्दै विषय प्रवेश गराएका थिए ।

त्यस लगत्तै प्रतिनिधित्व गर्दै आएका सहभागीहरुले धारणा राखेका थिए । उनीहरुले शनिबार र आइतबार विदा दिने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका थिए । उनीहरुले स्वास्थ्य मन्त्री विरोध खतिवडाले चाहे जस्तो यथास्थितिमा आइतबार ओपीडी चलाउन नसकिने स्पष्ट पारेका थिए ।

‘सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि आइतबार पनि शनिबार जस्तै विदा नै भयो । त्यो विदाको निर्वाध रुपमा उपभोग गर्न स्वास्थ्यकर्मी र चिकित्सकले पनि हक राख्छ । मन्त्री ज्यूले भने अनुसार सेवा सूचारु गर्ने हो भने सरकारले छुट्टै स्कीम पनि त ल्याउनु पर्ला । त्यसतर्फ केही कुरा नै भएन । त्यसपछि बैठक टुंगियो,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने ।

यता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका महासचिव डा. सन्तोष पौडेलले स्वास्थ्यकर्मी विशेष हुन भन्ने लाग्छ भने, त्यो खालको सुविधा खै ? भन्दै प्रश्न उठाएका थिए ।

‘स्वास्थ्य सेवा ऐन किन खारेज गरियो ? कोभिडका बेलामा स्वास्थ्यकर्मीले ज्यानको पर्वाह नगरी सेवामा खटिए, त्यसबापत भत्ता दिने भनियो, बीमा गरिदिने भनियो, तर त्यसको पूर्ण कार्यान्वयन भयो त ? प्रतिप्रश्न गर्दै उनले भने, यदि स्वास्थ्यकर्मी विशेष हुन भन्ने लाग्छ भने स्वास्थ्य सेवा ऐन पुन व्युताउँ र स्वास्थ्यकर्मीलाई विशेष रुपमा हेरौँ,’ उनले भने ।

सबैको कुरा सुनेपछि स्वास्थ्य सचिव डा. पोखरेलले ‘आइतबारको विदाको विषयमा तपाईँ मुख्य सरोकारवालाहरुको धारणा बुझ्नका लागि आज छलफलका बोलाइएको हो भन्दै यहि कुरा मन्त्री ज्यूलाई ब्रिफिङ गरिदिन्छु,’ भन्दै बैठक टुङ्याएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *