आइतबारको विदा स्वास्थ्य क्षेत्रमा कसरी मिलाउने ? सरोकारवालासंग छलफल गर्दै मन्त्रालय

काठमाडौँ, २१ बैशाख । स्वास्थ्य मन्त्रालयले आगामी १ जेठ देखि कार्यान्वयनमा आउन लागेको आइतबार सार्वजनिक विदा सम्वन्धी सरकारको निर्णयलाई अस्पतालमा कसरी मिलाउने भन्ने विषयमा सरोकारवालासंग छलफल गर्दैछ ।

मन्त्रालयले विहीबार (भोलि) ठूला सरकारी अस्पतालका निर्देशकहरु, चिकित्सकका पेशागत संगठनका प्रतिनिधि, नर्सिङ प्रतिनिधि, स्वास्थ्यसम्वन्ध कर्मचारीहरुको पेशागत संस्थाका प्रतिनिधिहरुसंग छलफल गर्दैछ ।

‘सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि त्यो सबैलाई नै लागू हुने हो । अस्पतालमा काम गर्ने चिकित्सक नर्स तथा अन्य प्राविधिक कर्मचारी सबैले पाउने नै हो । तर यस्तो अवस्थामा उपचार सेवालाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? आइतबारका लागि आकस्मिक कक्षबाटै सेवा दिन सकिन्छ कि ? आलोपालो गरेर विदा मिलाउन सकिन्छ कि ? भनेर छलफल गर्न खोजिएको हो । खासमा उहाँहरुसंग सुझाव लिन खोजिएको हो,’ स्वास्थ्य सचिव डा रोशन पोखरेलले भने ।

त्यसो त नेपाल चिकित्सक संघले दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णयको स्वागत गर्दै त्यसको पूर्ण रुपमा कार्यान्वयनमा लैजान भनेको छ । यता सरकारी चिकित्सक संघले भने सरकारले दुई दिन गर्ने विदा चिकित्सक तथा स्वास्थ्यकर्मी र अस्पतालहरुमा पनि लागू हुनुपर्ने र यदि लागू नगरी सेवामा खटिन परे विशेष सुविधा र प्रोत्साहनको व्यवस्था मिलाउनु पर्ने बताएको छ ।

तर आम सर्वसाधारणले भने शनिबार र आइतबार विदाले स्वास्थ्य सेवा लिनुपर्ने बिरामीहरु मर्कामा पर्ने बताएका छन् । उनीहरुले यो निर्णय कार्यान्वयनमा आए निजी अस्पतालमा जान बाध्य हुने दावी गरेका छन् ।

‘यसै पनि अहिले नाम चलेका निजी अस्पतालहरुले सातामा सातै दिन ओपिडी चलाउन थालेका छन् । नाम चलेका अधिकांश अस्पतालहरुमा तिनै सरकारी डाक्टरहरुले गएर सेवा दिने हुन् । यता विदा हुनुपर्छ भन्ने तर क्लिनिकमा विदा नवसी काम गर्ने प्रबृृत्ति छ । आम सर्वसाधारणले तिनै डाक्टर खोज्दै सेवा लिन निजी अस्पताल तथा क्लिनिक जानुपर्ने बाध्यता छ । यसले बिरामी मात्रै होइन सरकारी अस्पतालहरुको घाटा समेत बढाउने छ,’ एक सर्वसाधारणले भने ।

यसअघि स्वास्थ्य मन्त्री विरोध खतिवडाले अस्पतालहरुमा आइतबार विदा दिने निर्णय कार्यान्वयन हुन नसक्ने संकेत गरेका थिए । उनको संकेत पछि सरकारी डाक्टरहरुले विशेष सुविधा र प्रोत्साहन चाहिने बताएका थिए ।

# सहज रुपमा स्वास्थ्य सम्वन्धी समाचार पाउनका लागि यहाँ क्लिक गरी हाम्रो पेज लाइक गर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *