शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नौ वर्षमा गर्‍यो ८४० जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौं, १२ बैशाख । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आईतबार दशौं वर्षिकोत्सव मनाएको छ ।

मानिसको अंग प्रत्यारोपण गर्ने उद्धेश्यले १० वर्ष अगाडी सरकारको लगानीमा स्थापना भएको केन्द्रले सुरुमा मिर्गौला प्रत्यारोपण गरेको थियो ।
स्थापनाको केही वर्षपछि केन्द्रले कलेजो प्रत्यारोपण समेत सुरु गरिसकेको छ ।

सो केन्द्रको नेतृत्व बीचको एक बर्ष बाहेक प्रत्यारोपणविद डा. पुकारचन्द्र श्रेष्ठले लिएका छन् । त्यस केन्द्रमा हालसम्म हालसम्म ८४० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ ।

यसैबीच बार्षिकोत्सवको अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले मिर्गौला प्रत्यारोपणलाई अझै बढाउँदै लैजाने बताए । उनले प्रत्यारोपणको लागि पालो कुरेको दुईवर्ष भित्र मात्र पालो आउने भन्दै जनशक्ति र भौतिक संरचनाको विकास भएको खण्डमा दैनिक तीनचारजना व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न सकिने जानकारी दिए । उनले प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउन सके यसको बहुपक्षीय फाइदा हुने कुरा समेत उल्लेख गरे ।

उनले अंगदानसम्वन्धी हालको व्यवस्था उत्कृष्ठ भएपनि यसमा अझै सुधार गर्न सकिने ठाँउ रहेको भन्दै त्यसतर्फ लाग्नुपर्ने अवस्था देखिएको बताए । सिमित व्यक्तिले मात्रै अंगदान गर्ने व्यवस्था भएको कारण समस्या भएको बताए ।

मिर्गौला प्रत्यारोपण वार्षिक रुपमा दुई सय जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको भन्दै उनले माग भने वार्षिक तीनहजारसम्मको रहेको बताए ।

केन्द्रले ६ वर्षदेखि हप्तामा ६ देखि ८ जनाको मिर्गौला प्रत्यारोपण गर्दै आएको छ । अहिलेको अवस्थामा सबै बिरामीको मिर्गौला प्रत्यारोपण गर्न र सहज सुविधा दिनका लागि ७ वटै प्रदेशमा कम्तिमा पनि १ वटा प्रत्यारोपण केन्द्र आवश्यक पर्ने बताए । ‘मुटु, मिर्गौला र कलेजो तीन वटैको विशिष्टीकृत सेवा दिने एकमात्र केन्द्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मात्र रहेको भन्दै उनले वि.सं. २०७२ मंसिरमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु भएको बताए । हालसम्म केन्द्रले ८ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।

प्रतिष्ठानको लागि सहयोग रहन्छः राज्यमन्त्री खापुङ
यसैबीच स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने विषयमा मन्त्रालय सकारात्मक रहेको बताएका छन् । उनले केन्द्रको दशौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रतिष्ठान स्थापना भए प्रत्यारोपण क्षेत्रमा थप परिवर्तन ल्याउन सकिने बताए ।

खापुङले सात वटै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापनाका लागि सरकार सकारात्मक रहेको समेत जानकारी दिए । स्वास्थ्यलाई मौलिक हकमा स्वास्थ्य भएको हुँदा सरकार त्यसमा दत्तचित्त रहेको भन्दै अंगदान मृत्युपछि दिने विषय भएकाले अंगदान गर्नेहरुको रेकर्ड राख्नुपर्ने धारणा राखे ।

प्रत्यारोपणका लागि केन्द्रले खेलेको भूमिका उत्कृष्ट भएको भन्दैं प्रशंशा समेत गरे ।

स्वास्थ्य सचिव देवकुमारी गुरागाईले सात वटै प्रदेशमा हृदय रोग केन्द्र र मानव अंग प्रत्यारोपण केन्द्रको विस्तारमा सरकारसँग बजेटेको अभाव नहुने बताईन् । उनले हाल केन्द्र रहेको स्थान साँघुरो भएकोले अर्को ठाउँमा विस्तार गर्नुपर्ने बताईन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *