दाङमा ‘खोज र खोप’ अभियान

64
Shares

देउखुरी ७ बैशाख । दाङमा कोरोना महामारीका कारण भएको क्षति तथा मनोसामाजिक असर कम गर्न जिल्लाको दुई पालिकाबाट खोप अभियान शतप्रतिशत पुर्‍याउन र मनोपरामर्शको काम गर्न थालिएकोे छ।

स्वास्थ्य कार्यालयको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी दाङको आयोजना भएको कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य सञ्चालन परियोजनासम्बन्धी अभिमुखीकरण तथा समन्वयात्मक कार्यशालामा परियोजना प्रमुख राजकुमार क्षेत्रीले सबै नागरिकलाई शतप्रतिशत खोप लगाउन खोज र खोपको नीतिलाई पालिकासँगको सहकार्यमा अघि बढाइने बताए।

‘कोभिडका कारण प्रभावित भएका परिवारलाई वैज्ञानिक मनोसामाजिक परामर्श गर्दै जीवनोपयोगी सीप सिकाउन अभियान महत्वपूर्ण हुनेछु, उनले भने, ‘खोज र खोप नीति यहीभित्र पर्छ।’

उनले मोबाइल क्याम्प राखेर भए पनि दुर्गम क्षेत्रका हरेक नागरिकलाई कोभिडबाट बचाउन खोप अभियान विकेन्द्रित गरेर लैजाने रणनीति रहेको बताए।

जिल्लामा हालसम्म ८९ दशमलव पाँच प्रतिशतले मात्रै कोभिडविरुद्ध पूर्णमात्रामा खोप लगाएका छन्। स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हाल दुई मात्रै सक्रिय संक्रमित छन् । तेह्र हजार २३० संक्रमित भएकामा ३३७ जनाले ज्यान गुमाएका छन्।

कार्यालय प्रमुख अङ्गदबहादुर शाहीले दुई पालिकाबाट थालनी गर्न लागिएको अभियानले कोभिड नियन्त्रण गर्नका लागि विशेष काम गर्ने हुँदा समस्या पहिचानका लागि सम्बन्धित ठाउँमा पुगेर सेवा दिन अपिल गरे।

जिल्लाको भूगोलमा विविधता भएको हुँदा सहज सूचना तथा परामर्शसँगै खोपको पहुँच बढाउन लाग्नुपर्ने बताए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोभिड विपद् मात्रै नभई एक कठिन सिकाइ भएकाले विगतको अभ्यासबाट पाठ सिक्दै योजनाबद्ध ढङ्गले मानवीय जोखिम कम गर्न र आर्थिक क्रियाकलाप चलायमान बनाइराख्ने नीति बताउन सचेत गराए। रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *