डब्लुएचओका महानिर्देशक डा. टेड्रोस आगामी साता नेपाल आउँदै

– डा. टेड्रोस एड्हानोम गेहब्रेयसस

काठमाडौँ, २ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा डा. टेड्रोस आगामी साता नेपाल आउन लागेका हुन्।

‘डा. टेड्रोस ३ दिने भ्रमणका लागि यही ८ बैशाख (२१ अप्रिल) मा नेपाल आउने र १० बैशाख (२३ अप्रिल)मा फर्कने कार्यक्रम छ । हाम्रो मन्त्री ज्यूको निमन्त्रणमा आउन लाग्नु भएको हो । भ्रमण राजकीय हुनेछ,’ स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भने । उनका अनुसार भ्रमणका क्रममा डा. टेड्रोसले नेपालका उच्च अधिकारीहरुसँग भेटघाट गर्ने छन्।

नेपालमा रहँदा डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

महानिर्देशक टेड्रोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आउने कार्यक्रम तय भएको बताइएको छ।

खासगरी कोभिड महामारी र कोभिडविरुद्धको खोपमा नेपालले हासिल गरेको प्रगती तथा नेपालको खोप कार्यक्रममा भएका सफल कार्यलाई हौसला प्रदान गर्नका लागि उनी आउन लागेको जानकारहरु बताउँछन् ।

डा. टेड्रोस डव्लुएचओको महानिर्देशक हुनु अघि एक पटक नेपाल आएका थिए । मन्त्रालयका तत्कालिन प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले डव्लुएचओमा महानिर्देशक छनौटमा भोटिङ हुनु अघि उनी परिवार सहित नेपाल आएर मन्त्रालयका उच्च अधिकारीसंग भेट गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *