कोभिड-१९ विदा गर्ने वर्ष बनोस् २०७९
काठमाडौँ, १ बैशाख । नयाँ वर्ष २०७९ साल सुरु हुनु अघिल्लो दिन अर्थात हिजो कोभिड -१९ को नयाँ संक्रमितको संख्या नेपालमा ठ्याक्कै १९ नै थियो । निको हुनेको संख्या ४९ जना थियो । हिजोको दिनसम्म देशमा कोभिड -१९ को संक्रिय संक्रमितको संख्या ५१९ रहेको थियो ।
करीव २९ महिना अघि चीनको उहान प्रान्तमा पहिलो पटक देखा परेको यो भाइरस अहिलेसम्म संसारका २२८ मुलुकमा देखा परेको छ । नेपालमा यो भाइरसको देखा परेपछि गरिएको पीसीआर परीक्षणमा अहिलेसम्म ९ लाख भन्दा केही बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । निको हुनेको संख्या पनि ९ लाख भन्दा केही बढी नै छ ।
वल्ड मिटरका अनुसार हिजोको दिनसम्म कोभिड १९ को भाइरस संसारका २२८ वटा मुलुकका ५० करोड १५ लाख ७ हजार ९९ जनामा पुष्टि भएको छ । उपचार पछि निको हुनेको संख्या हिजोको दिनसम्म संसारभर ४५ करोड १६ लाख ६२ हजार ७४९ रहेको छ ।
संयोग पनि कस्तो २०७९ साल सुरु हुँदै गर्दा कोभिड – १९ संग जोडिने हरेक महत्वपूर्ण तथ्य र तथ्यांकहरुको अन्तिम अंक ९ बन्न पुगेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको शव्द सापटी लिने हो भने नेपाल कोभिड १९ को महामारीलाई डटेर सामना गर्ने मुलुकमा पर्दछ । अमेरिका, बेलायत र पश्चिमा मुलुकहरुमा ठूलो जनधनको क्षति भएपनि नेपाल त्यसमानेमा लक्कि सावित भयो । यद्धपी हिजो बेलुकासम्म नेपालमा कोभिड -१९ बाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । यो संख्या देश र परिवारका हिसावले हेर्ने हो भने ज्यादै नै ठूलो हो ।
विश्वका अन्य देशमा जस्तै नेपालमा पनि पहिलो र दोस्रो लहरको रुपमा कोभिडले हलचल मच्चायो । त्यसपछि आएको नयाँ भेरियन्ट ओमिक्रोनले पनि संक्रमण त निकै नै गरायो तर मृत्युको क्षति गराउन सफल भएन । त्यसको एउटै कारण खोप हो भन्छन् जनस्वास्थ्यका विज्ञहरु ।
नेपालले अहिलेसम्म कोभिडविरुद्धको ६ वटा खोप प्रयोगमा ल्याएको छ । सातौँ खोप देश भित्र आईसके पनि लगाईसकिएको छैन् ।
लक्षित जनसंख्या अर्थात १८ वर्ष माथिका उमेर समूहका ८३.१ प्रतिशत व्यक्तिले कोभिडविरुद्धको खोपको पूर्णमात्रा लिईसकेका छन् । पहिलो मात्रा लगाउनेको प्रतिशत ९३.९ प्रतिशत रहेको छ । यस्तै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई पनि फाइजर तथा मोडर्ना खोप दिईदै आएको छ । त्यसमा पनि एक मात्रा लगाउने ९२ प्रतिशत र पूर्ण मात्रा ७५ प्रतिशतले लगाएका छन् । सरकारले यसमाथि बुस्टर डोज दिन थालेको छ ।
खोप लगाएको कारण पछिल्लो समय देखिएका र अति संक्रामक भनिएका कोभिड -१९ का नयाँ नयाँ भेरियन्टले पनि खास असर गर्न सकेको छैन् । पछिल्ला महिनामा देखिएका हाम्रा गतिविधिले देशबाट कोभिड भागिसकेको भान पर्न थालेको छ । तर त्यो गलत हो । अहिले पनि हामी सतर्क अपनाउनु पर्छ । स्वास्थ्यका मापदण्ड पालना गर्नु पर्छ । खोप नलगाएकाहरुले खोप लगाउनुपर्छ । यसो गर्न सकिएमा कोभिड-१९ लाई स्थायी रुपमा परास्त गर्न पनि सकिन्छ ।
आसा गरौँ विसं २०७९ साल नेपाल कोभिड १९ मुक्तदेश बन्ने छ । कोभिडविरुद्धको पूर्ण मात्रा सतप्रतिशत लगाउने देशका रुपमा आफूलाई स्थापित गर्न सक्नेछ । नव वर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना ।
सम्पर्क इमेल : [email protected]