आज विश्व स्वास्थ्य दिवस

विश्वमा १० मध्ये ९ जनाले प्रदूषित हावामा सास फेर्छन्

वायु प्रदूषण र सुर्तीजन्य पदार्थको सेवनकै कारण हरेक वर्ष ६५ हजार नेपालीले ज्यान गुमाउँछन

काठमाडौँ, २४ चैत । आज ७ अप्रिल, नेपालमा पनि विविध कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाईंदै छ । वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित गरेर यसवर्षको दिवसको नारा “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने तय गरिएको छ ।

दिवस र नाराको सन्दर्भ

विश्व जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावको साक्षी छ । बितेका प्रत्येक वर्षलाई हेर्ने हो भने अझ स्पष्ट र थप प्रमाणका साथ कसरी जलवायु संकटले मानिसहरुको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ भन्ने थाहा हुन्छ । त्यसैले पनि वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन सक्दैन भन्ने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा १० मध्ये ९ जनाले प्रदूषित हावामा सास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । यस्तै अहिले पनि संसारभर २ अर्ब मानिस सुरक्षित पिउने पानी र ३.६ अर्ब मानिस सुरक्षित सरसफाईको अभावमा छन ।

प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाईको अभावका कारण हुने झाडापखाला रोगबाट ८ लाख २९ हजार मानिसको ज्यान जाने गरेको छ ।

नेपालमा बर्षेनी बायु प्रदूषणबाट ३७,६८३ जनाको र सुर्र्तीजन्य रोगका कारण २७,१०० को अकालमै मृत्यु हुने गरेको छ ।

डव्लुएचओको अनुमान अनुसार प्रत्येक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसहरुको मृत्यु हामीले नियन्त्रण गर्न सकिने वातावरणीय कारणहरुले गर्दा हुन्छन् ।

नेपाल जलवायु परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको मुलुक हो ।

देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरु (बाढी, खडेरी, अत्याधिक गर्मीका कारण हुने बन डढेलो) र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारकहरु हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलवायु परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुलाई सम्बोधन गर्नका लागि विभिन्न कदमहरु चालेको जनाएको छ ।

मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना कार्यान्वयन गरेको बताउँदै स्वास्थ्य क्षेत्रको जोखिम र अनुकूलन मूल्याङ्कनका आधारमा परिमार्जनको चरणमा रहेको उल्लेख गरेको छ । यस्तै मन्त्रालयले राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्धाहरुलाई सम्बोधन गरेको जानकारी दिएको छ ।

त्यसो त  मन्त्रालयले हालै सन २०२१ मा ग्लस्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्युन कार्बन स्वास्थ्य प्रणालीको बिकास गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपालले पेन्टमा हुने सिसा को मात्रा ९० पीपीएम तोकेर बाध्यकारी मापदण्ड लागु गरेको छ र यस्को कार्यान्वयनमा महत्वपूर्ण प्रगती भएको बताइएको छ ।

मर्करीको प्रयोगबाट स्वास्थ्यमा हुने जोखिमलाई ध्यानमा राख्दै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालले सन २०२० मा गर्भवती, स्तनपान गराउने महिला र १५ वर्ष मुनिका बालबालिकाहरुलाई तत्काल लागू हुनेगरी र अन्यलाई पाँच वर्ष भित्र डेन्टल अमल्गमको प्रयोग निषेध गर्न निर्देशिका जारी गरेको थियो ।

यस्तै नेपालले स्वास्थ्य सेवा संस्थाहरुमा स्वच्छ पानी र सरसफाईमा पहुँच सुनिश्चिजत गर्न आवश्यक सेवाहरुमा लगानी बढाउन जरुरी रहेको बताउँदै आएको छ ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रतिवद्धता अनुसार जलवायु परिवर्तन, वायुको गुणस्तर, रसायनिक सुरक्षा, सरसफाई जस्ता उदीयमान वातावरणीय स्वास्थ्यसँग सम्बन्धित दिगो विकासका लक्ष्यहरु सन २०३० सम्ममा हासिल गर्न प्रतिवद्ध रहेको बताईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *