२० वटा मेडिकल कलेज/प्रतिष्ठानलाई २० वटा जिल्लामा विशेषज्ञ शल्यचिकित्सा सेवा दिने जिम्मा
कुन कलेज/प्रतिष्ठानलाई कुन जिल्ला अस्पताल ?
काठमाडौँ, २२ चैत । देशभर रहेका मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले २० जिल्लामा गएर विशेषज्ञ शल्यचिकित्सा सेवा उपलव्ध गराउने भएका छन् ।
राष्ट्रिय चिकित्सा ऐन -२०७५ को दफा २० र राष्ट्रि चिकित्सा शिक्षा नियमावलीको दफा ४० अनुसार जिल्लाका अस्पतालमा गएर विशेषज्ञ शल्यचिकित्सा सेवा उपलव्ध गराउने भएका हुन् ।
चिकित्सा शिक्षा ऐन र कार्यविधिलाई टेकेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मेडिकल कलेज /स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ शल्यचिकित्सा सेवा उपलव्ध गराउने सम्वन्धी कार्यविधि -२०७८’ जारी गरेको छ । उक्त कार्यविधिमा प्रत्येक मेडिकल कलेज तथा प्रतिष्ठानले मन्त्रालयले तोकेको एक जिल्लामा जिम्मा लिएर शल्यचिकित्सा सेवा सुरु गर्नुपर्ने उल्लेख छ ।
स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा कृष्ण प्रसाद पौडेलले २० वटा मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई एक एक जिल्ला तोकिएको भन्दै कतिपयले सम्झौँता गरेर कार्य अघि बढाएको समेत बताए ।
के छ दफा २० र ४० मा ?
राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २० मा संस्थागत जवाफदेहिता बुँदा रहेको छ । जसमा कुनै पनि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले मन्त्रालयले तोकेको कम्तिमा एउटा जिल्लामा सेवा क्षेत्रको रुपमा काम गर्नुपर्ने उल्लेख छ । त्यसमा विशेषज्ञ चिकित्सा सेवा नै हुनुपर्ने उल्लेख छ ।
यस्तै राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को दफा ४० मा समुदायमुलक शिक्षा तथा चिकित्सा सेवा प्रदान गर्ने विषय उल्लेख छ । जसमा ‘प्रत्येक विश्वविद्यालय, प्रतिष्ठान वा अन्य शिक्षण स.स्थाले स्वास्थ्य सम्वन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालयले तोकेको कम्तिमा एक जिल्लामा समुदायमूलक शिक्षा तथा चिकित्सा सेवा प्रदान गर्नुपर्नेछ,’ भनिएको छ ।
यहि व्यवस्था अनुसार मन्त्रालयले बनाएको कार्यविधिमा मेडिकल कलेज तथा प्रतिष्ठानले जिम्मा लिएका जिल्लाहरुमा कम्तिमा एक जना शल्यचिकित्सक, एक जना प्रसूती तथा स्त्री रोग विशेषज्ञ र एक जना एनेस्थेसियोलोजिष्ट तथा एनेस्थेसिया सहायक पठाउनु पर्ने उल्लेख छ ।
कार्यविधिमा बहिरंग सेवा, शल्यक्रिया सेवा र आवश्यक प्रेशणको व्यवस्था मिलाउने र अस्पतालसंग समन्वय गर्ने कुरा उल्लेख छ ।
कुन मेडिकल कलेज प्रतिष्ठानको भागमा कुन जिल्ला ?
१. नेपालगञ्ज मेडिकल कलेज – बाँके जाजरकोट अस्पताल
२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला – हुम्ला जिल्ला अस्पताल
३. युनिभर्सल मेडिकल कलेज भैरहवा – रुकुम अस्पताल रुकुम पश्चिम
४. लुम्बिनी मेडिकल कलेज पाल्पा – गुल्मी अस्पताल
५. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की – दमौली अस्पताल तनहूँ
६. गण्डकी मेडिकल कलेज पोखरा कास्की -स्याङ्जा अस्पताल स्याङ्जा
७. मणिपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखरा – पर्वत अस्पताल पर्वत
८. चितवन मेडिकल कलेज -लमजुङ अस्पताल लमजुङ
९. कलेज अफ मेडिकल साइन्सेज भरतपुर, – मध्यविन्दु अस्पताल नवलपुर
१०. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान -गोरखा अस्पताल गोरखा
११. त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) – सिन्धुपाल्चोक अस्पताल
१२. चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) – धादिङ अस्पताल
१३. काठमाडौँ मेडिकल कलेज – रामेछाप अस्पताल
१४. किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल -दोलखा अस्पताल
१५. नेपाल मेडिकल कलेज जोरपाटी – खोटाङ अस्पताल
१६. धुलिखेल मेडिकल कलेज तथा शिक्षण अस्पताल – धुलिखेल सिन्धुली अस्पताल
१७. नेशनल मेडिकल कलेज वीरगञ्ज,– गौर अस्पताल
१८. वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान – धनकुटा अस्पताल
१९. नोवेल मेडिकल कलेज शिक्षण अस्पताल – पाँचथर अस्पताल
२०. विराट मेडिकल कलेज शिक्षण अस्पताल – तेह्रथुम अस्पताल
सम्पर्क इमेल : [email protected]