पाल्पामा २३ देखि ३० चैतसम्म टाइफाइडविरुद्धको खोप अभियान चल्ने
पाल्पा, २१ चैत । स्वास्थ्य कार्यालय पाल्पाले आगामी २३ देखि ३० चैतसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । संघीय सरकारले २५ चैत देखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भनेपनि लुम्बिनी प्रदेशले २२ चैत देखि नै खोप अभियान सञ्चालन गर्न सक्ने निर्देशन दिएको थियो ।
पछि विद्यार्थीहरुको बार्षिक परीक्षा गर्नु पर्ने भएकोले दुई दिन भएपनि अगाडी देखि नै खोप चलाउन लागिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले बताए ।
उनका अनुसार जिल्लामा १५ महिना देखि १५ वर्ष भित्रका टाइफाइड खोप लगाउनेको संख्या ७१ हजार ५५१ जना रहेको छ । त्यसका लागि ७८० वटा खोप केन्द्र तोकिएको छ । खोप केन्द्रहरु अधिकांश विद्यालय तोकिएको छ । यस्तै १ हजार ७५ जना स्वयंसेवक, महिला शिक्षक ४५३ जना, स्वास्थ्य स्वयंसेविका ६२२ जना तोकिएका छन् ।
हरेक केन्द्रमा न्युनतम १२५ जना खोप लगाउने बालबालिका हुनुपर्ने र खोप केन्द्र बढीमा २ घण्टाको दुरी रहेको बताइएको छ ।

यसैबीच सोमबार खोप अभियानको तयारीबारे जिल्ला खोप समन्वय समिति पाल्पाले पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका अध्यक्ष मिरा मरासिनीको अध्यक्षमा भएको कार्यक्रममा खोप अभियानबारे जानकारी दिइएको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ