अब पूर्ण खोपको तीन महिनापछि नै ‘बुस्टर डोज’
साइनोभ्याक खोप लगाउने अभियान टाइफाइड खोप पछि
काठमाडौँ, १५ चैत । सरकारले कोभिडविरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई थप एक मात्र डोज (बुस्टर डोज) खोप दिने तयारी गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गर्न लागेको हो ।
यसअघि सरकारले पूर्ण खोप लगाएको छ महिना पुगेका व्यक्तिलाई थप एक मात्रा (बुस्टर डोज) दिने निर्णय गरेको थियो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख सागर दाहालले सल्लाहकार समितिको सिफारिसको आधारमा बुस्टर डोज लगाउने मापदण्ड परिवर्तन गर्न लागिएको बताए ।
‘अहिले सल्लाहकार समितिले सिफारिस गरेको अवस्था छ । अब सो सिफारिसलाई टेकेर मन्त्रालयले नयाँ निर्णय गर्छ । त्यसपछि पूर्ण खोप लगाएको तीन महिना पछि बुस्टर डोज दिने कार्यक्रम अघि बढ्छ,’ उनले भने ।
साइनोभ्याक खोप लगाउने अभियान टाइफाइड खोप पछि
सरकारले चीनबाट अनुदानमा प्राप्त गरेको कोभिडविरुद्धको नयाँ खोप साइनोभ्याक तत्काल प्रयोगमा नल्याउने भएको छ । आगामी २५ चैत देखि टाइफाइड विरुद्धको खोप अभियान सुरु गर्न लागेको भन्दै नयाँ खोप प्रयोगमा नल्याउने भएको हो ।
खोप शाखा प्रमुख दाहालले एकैपटक दुई वटा खोप अभियान सञ्चालन गर्न कठिनाइ हुने भन्दै पहिले टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरी त्यसपछि मात्रै कोभिडविरुद्धको खोप अभियानलाई पुन सक्रिय बनाउने बताए । उनले अहिले चलिरहेका स्थानमा भने खोपलाई निरन्तरता दिने जानकारी दिए ।
सरकारले २५ चैत देखि १८ बैशाखसम्म १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिदैछ ।
सम्पर्क इमेल : [email protected]