अब कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पनि मिर्गौला प्रत्यारोपण हुने

2.6k
Shares

काठमाडौँ, १० चैत । कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा पनि अब मिर्गौला प्रत्यारोपण हुने भएको छ । प्रदेश अस्पतालले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसंग सहकार्य गर्दै यसै आर्थिक वर्ष देखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको हो ।

विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बर खड्का र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठबीच प्रत्यारोपण सेवा सञ्चालन सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौँता पत्रमा आर्थिक वर्ष भित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने र प्रदेश अन्तरगर्तका विभिन्न अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने कार्यक्रम उल्लेख छ । यस्तै उक्त कार्यक्रमका लागि आवश्यक जनशक्तिका लागि तालिम अध्यापन आदि व्यवस्थापन गर्ने काम प्रत्यारोपण केन्द्रको हुने उल्लेख छ ।

यसैगरी सम्झौँता पत्रमा मष्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्यहरु प्रभावकारी बनाउन कार्ययोजना प्रस्तुत गर्ने, प्रदेश अस्पताल सुर्खेत अन्तरगर्त प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण फेलोसिप, एमसीएच, युरोलोजी, डिएम नेफ्रोलोजी, नर्सिङ विषयको स्नातक तथा स्नातकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक गृह कार्य गर्ने उल्लेख छ ।

पछिल्लो समय प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपण र डायलासिस सेवालाई प्रदेश तहमा विस्तार गर्ने योजनालाई तिब्रता दिएको छ । केन्द्रका निर्देशक डा श्रेष्ठले केही समय अघि गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग पनि यस्तै खालको सम्झौँता गरी यसै आर्थिक वर्ष भित्र प्रत्यारोपण सेवा सञ्चालन गर्ने बताएका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “अब कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पनि मिर्गौला प्रत्यारोपण हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *