अब हरेक प्रदेशका सदरमुकाम पार्कमा खुला योग तथा व्यायामशाला

काठमाडौँ, ४ चैत ।  सरकारले यसै आर्थिक वर्ष भित्र सातवटा शहरमा खुला योग तथा व्यायामशाला सञ्चालनमा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले नागरिक आरोग्य कार्यक्रम अन्तर्गत खुला योग तथा व्यायामशाला सञ्चालनमा ल्याउन लागेको हो ।

‘यो कार्यक्रमको मुख्य उदेश्य नसर्ने रोगको जोखिम कम गर्ने हो । त्यसको एउटा महत्वपूर्ण पक्ष भनेको योग तथा शारीरिक व्यायाम हो । त्यसका लागि नै हामीले सार्वजनिक स्थानमा व्यायामशाला सञ्चालनमा ल्याउन लागेको हौं,’ विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले अगाडी थपे, ‘पहिलो चरणमा सातवटै प्रदेशका प्रदेश सदरमुकाममा रहेका शहरका पार्कमा यो व्यायमशाला सञ्चालनमा ल्याइने छ ।’

उनका अनुसार पहिलो चरणमा प्रदेश नं १ को बिराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा यो व्यायामशाला सञ्चालनमा आउने छ । त्यसका लागि विभागले सामग्री खरीदको प्रक्रिया अघि बढाइसकेको बताएको छ ।

योग तथा खुला व्यायामशालामा पार्कमा हुने र चौविसै घण्टा खुल्ला रहने बताए । व्यायामका सामानहरु पार्कमा रहन्छ । जो व्यक्तिलाई जति खेर मन लाग्यो त्यहाँ गएर व्यायाम गर्न सकिन्छ । डा उपाध्यायले भने ।

विभागले खुला योग तथा व्यायामशालाका लागि विभिन्न १५ प्रकारका सामग्रीहरु राखिने जनाएको छ । त्यसमा लेग प्रेस, आर्म एण्ड सोल्डर ह्विल, एयर स्विङ, साइकल लगायतका रहेका छन् ।

त्यसो त विभागले यसअघि नै नमूनाको रुपमा भन्दै काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा खुला योग तथा व्यायामशाला सञ्चालनमा ल्याइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *