कोभिड-१९ को लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिलाई पीसीआर जाँच नगर्नु : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, २७ फागुन । सरकारले कोभिड – १९ को लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई पीसीआर जाँच नगर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरेको छ ।
अहिलेसम्म अस्पतालहरुले आफूकहाँ उपचारका लागि भर्ना हुने जुनसुकै बिरामी र शल्यक्रिया गर्ने बिरामीका लागि पीसीआर जाँच अनिवार्य जस्तै गराएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज भएको निर्णय सार्वजनिक गर्दै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई पीसीआर अनिवार्य नगर्न अनुरोध गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘अब कोभिड १९ को लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिलाई पीसीआर टेष्ट अनिवार्य नगराउन हुन अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई मन्त्रालयको आजको निर्णय अनुसार अनुरोध गरिएको छ ।’
देशमा कोभिड -१९ को संक्रमण घट्दै जाँदा सरकारले यसको नियन्त्रणका लागि लगाएका कडा प्रावधानहरु पनि हटाउँदै गएको छ ।
बिहीबार मात्रै अध्यागमन विभागले वैदेशिक रोजगारीमा जानेहरुका लागि सम्वन्धीत देशको मापदण्ड अनुसार पिसीआर गर्नु पर्ने वा नपर्ने विषयमा निर्णय लिन सकिने बताएको थियो ।
त्यसका लागि सम्वन्धित एयरलाईन्सले यात्रुहरुलाई सूचीत गराउने भन्ने थियो । यस्तै नेपाल प्रवेश गर्नका लागि पनि पूर्ण खोप लगाएको यात्रुले पनि पीसीआर गराउन नपर्ने उल्लेख थियो ।
सम्पर्क इमेल : [email protected]