राज्यमन्त्री श्रेष्ठद्वारा भोजपुर जिल्ला अस्पतालको निरीक्षण
विशेषज्ञ सेवा सहित ५० वेडमा स्तरोन्नति गर्ने घोषणा

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भोजपुर जिल्ला अस्पतालको निरीक्षण गरेका छन् । शुक्रबार भोजपुरमा संचालित स्वास्थ्य शिविरको उद्घाटन गर्न जाने क्रमममा राज्यमन्त्री श्रेष्ठले जिल्ला अस्पतालको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा उनले भोजपुर जिल्ला अस्पताललाई स्वास्थ्य सेवामा पूर्वको हवका रुपमा स्थापित गराउनु पर्ने बताए ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका राज्यमन्त्री श्रेष्ठले भोजपुर अस्पताललाई विशेषज्ञ चिकित्सकको सेवासहित ५० वेड क्षमतामा स्तरोन्नती गर्ने बताए । यसका लागि तत्कालै पहल थाल्ने उनको भनाइ छ ।
भोजपुर जिल्ला अस्पतालमा ५० वेडको पूर्वाधार बनेको छ । तर, हालसम्म १५ वेडभन्दा बढी संचालनमा आएको छैन । पूर्वाधारको विस्तार बिनानै ५० वेड चल्ने भएकाले सोही अनुसारको जनशक्तिको व्यवस्थापन गरेर स्वास्थ्य सेवा बढाइने मन्त्री श्रेष्ठको धारणा छ ।
भोजपुर अस्पताललाई पूर्वकै नमुना अस्पतालका रुपमा विकास र विस्तार गर्न आफू लागि परेको भन्दै मन्त्री श्रेष्ठले धरान र विराटनगर बिरामी पठाउने अवस्था अन्य गर्न लागिपर्ने स्पस्ट पारे ।
उनले आजदेखि दुई दिनसम्म चल्ने स्वास्थ शिविरको अनुगमन समेत गरेका छन् । अस्पतालभित्रैबाट डा। भगवान कोइराला, डा। रत्नमणि गजुरेल, डा। आनन्द श्रेष्ठ लगायतले विशेषज्ञ सेवा दिएका छन् ।
अस्पतालबाहिर विद्योदय स्कुलबाट डा. भुपेन्द्र कुमार बस्नेत, डा. बद्री रिजाल, डा. प्रमोद जोशी, डा. अनिल बिक्रम कार्की, डा. लोचन कार्की, डा. प्रत्युस श्रेष्ठ, डा. सन्जुबाबु श्रेष्ठ, डा. मेनोन गोर्खाली, डा. शिवजी पौडेल, डा. प्रकाश बुढाथोकी, डा. मनोज लाखें, डा. फरेन्द्र साह, डा. दीपक सिग्देललगायत ५० जना भन्दा बढी चिकित्सकले सेवा दिइरहेका छन् ।
मन्त्री श्रेष्ठले दुर्गममा देशका ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकको उपस्थितिले जनताले मात्रै सेवा नपाएर राज्यलाईनै चिकित्सकले अवसर पाए जुनसुकै स्थानमा पुगेर पनि सेवा दिन सक्छन् भन्ने सन्देश पुर्याएको बताए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




