सन्दर्भ : विश्व मिर्गौला दिवस

मिर्गौला पिडीतका लागि सरकार सम्वेदनशील छ : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, २६ फागुन । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मिर्गौला पिडीतका लागि सरकार सम्वेदनशील रहेको बताएका छन् । उनले मिर्गौलाका बिरामीका लागि आर्थिक तथा कानूनी तवरबाट सरकारले सहयोग गरिरहेको भन्दै थप सहयोगको प्रयास भइरहेको जनाएका छन् ।

विश्व मिर्गौला दिवसको अवसरमा स्वास्थ्यकर्मी तथा कलाकार र अंगप्रत्यारोपितबीचको फुटवल प्रतियोगिताको उदघाटन गर्न दशरथ रंगशाला आएका खतिवडाले जनचेतना अभिवृद्धि गर्नु अवको आवश्यकता रहेको बताए ।

‘म यहाँ आएँ, प्रत्यारोपितहरुसंग फुटवल खेलें, उहाँहरुले हाम्रो टिमलाई शुरुमै गोल गरेर अग्रता पनि लिनुभयो । त्यसैले प्रत्यारोपणपछि कमजोर हुन्न भन्ने यो पनि उदाहरण हो,’  मन्त्री खतिवडाले भने, ‘त्यसका लागि हामी हाम्रो तर्फबाट बाताबरण बनाउने छौँ । अंगप्रत्यारोपण र डायलासिसलाई थप व्यवस्थित र सबैको सहज पहुँचमा पुरयाउने काममा लाग्नेछौँ ।’

कार्यक्रममा स्वास्थ्य सचिव गुरागाईँले राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानको सराहाना गरिन । यस्ता अभियान आगामी दिनमा पनि चलाउनु पर्ने गुरागाईँले बताईन् । ‘साच्चिकै यसले मिर्गौलाका बारेमा जनचेतना अभिबृद्धि गर्नमा मद्धत पुरयाउने छ, प्रत्यारोपितको हौसला बढाउने छ,’ सचिव गुरागाईंले भनिन् ।

विश्व मिर्गौला दिवसको यस वर्षको नारा ‘मृगौला स्वास्थ्य सबैका लागि’ तय गरिएको थियो । दशरथ रंगशालामा आयोजना गरिएको कार्यक्रममा अंगदान शिविर, अंगदान तथा अंग प्रत्यारोपण सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको थियो ।

अंगदान शिविरबाट १४५ जनाले आफ्नो मृत्यु पछिको अंगदानका लागि नाम लेखाएको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठले जानकारी दिईन् ।

रंगशालामा कार्यक्रम हुनुअघि स्वास्थ्य मन्त्री खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री नेतृत्वमा रत्नपार्कबाट प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *